मुलुकका अधिकांश क्षेत्रमा बिहानैदेखि वर्षा, बाढीपहिरोकाे खतरा

काठमाडौं उपत्यकासहित पश्चिमी क्षेत्रका धेरै ठाउँमा आज (बिहीबार) बिहानैदेखि वर्षा भइरहेको छ।

यस्तै हुम्ला, डोल्पा, जुम्लालगायत हिमाली जिल्लाका उच्च क्षेत्रमा हिमपात पनि भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार वर्षा महिनामा जत्तिकै बाढीपहिरोको जोखिम नभए पनि यसपटक अलि बलियो खालको हिउँदे वर्षा भएकाले पहाडी र हिमाली क्षेत्रका बासिन्दाले सतर्कता अपनाउन जरुरी छ।

‘यसपटक अलि बलियो खालको प्रणाली भित्रिएको छ,’ मौसमविद् पौडेलले भने,‘हामीले गरेको पूर्वानुमानअनुुसार पश्चिमका केही क्षेत्रमा भारी वर्षा भयो भने खहरे खेलाहरू उर्लने तथा कतिपय ठाउँमा पहिरो, हिमपहिरो जाने, बाटो भत्केन सम्भावना छ, त्यसकारण ती क्षेत्रका बासिन्दाले सतर्कता भने अपनाउनु जरुरी छ।’

ऊर्जा मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बिहीबार र शुक्रबार उच्च पहाडी क्षेत्रमा हिमपहिरो र पहाडी क्षेत्रमा पहिरो जाने सम्भावना रहेको भन्दै सतर्क रहन यसअघि नै आग्रह गरिसकेको छ।

शाखाले बुधबार उच्च पहाड क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको भन्दै हिमपहिरो र पहिरोका सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सूचित गरेको हो।

‘बिहीबार देशको अधिकांश स्थानमा वर्षा हुने र उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठूलो वर्षा हुनसक्ने देखिएकाले हिमपहिरो जानसक्ने क्षेत्र र पहिरो जानसक्ने क्षेत्रमा सतर्क रहौं,’ बढी पुर्वानूमान महाशाखाले भनेको छ, ‘पहाडी क्षेत्रका स-साना खोलाहरुमा आकस्मिक बहाव प्रवाह हुन पनि सक्छ।’

माैसमविद् पाैडेलका अनुसार अहिले इलाम, झापालगायत पूर्वी जिल्लामा भने मौसम बदली भएको छैन। बादल विस्तारै पूर्वतर्फ गइरहेकाले दिउँसो या बेलुकीसम्ममा पूर्वी क्षेत्रमा पनि पानी पर्ने अनुमान छ।

शनिबारदेखि मात्र माैसममा सुधार आउने उनले बताए।

यस्तो छ आजदेखि तीन दिनसम्मको मौसम पूर्वानुमान
२०७५/१०/२४ देखि २५ गतेसम्म

माघ २४ गते (आज)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। पश्चिमि र मध्य भेगका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र पूर्वी भेगका केही स्थानमा हल्का वर्षा हुने प्रवल सम्भावना देखिन्छ। साथै पश्चिमि र मध्य भू–भागका थोरै स्थानमा भारी वर्षासमेत हुने सम्भावना देखिन्छ।
देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको संम्भावना छ भने मध्य र पश्चिमी उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानमा भारी हिमपातको पनि सम्भावना देखिन्छ।

रातिः देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा र १–२ स्थानमा भारी वर्षाको समेत सम्भावना देखिन्छ।
देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको पनि सम्भावना छ।

माघ २५ गते

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा र एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भेगको एक/दुईस्थानमा भारी हिमपातको पनि सम्भावना देखिन्छ।

रातिः देशभर सामान्य बदली रहने देखिन्छ। देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना देखिन्छ। पूर्वी भेगका एक/दुई स्थानमा भारी वर्षाको संभावना छ। देशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको संम्भावना छ।

माघ २६ गते

दिउँसोः देशको पश्चिमि भेगमा आंशिक बदली रहनेछ भने मध्य र पूर्वी भेगमा सामान्य बदलि रहनेछ। मध्य र पूर्वको केहि स्थानमा हल्का वर्षा रहनेछ। देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ।

रातिः देशको मध्य र पूर्वी भेगमा आंशिक देखि सामान्य बदलि रहनेछ भने पश्चिमी भेगमा सामान्यतया सफा रहनेछ। मध्य र पूर्वको केही स्थानमा हल्का वर्षा रहनेछ। देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ।

–जल तथा मौसम पूर्वानुमान महाशाखा

Share on

Leave a Reply

Your email address will not be published. Required fields are marked *