बच्चुकैलाशमाथि दुःखका बाछिटा

– नगेन्द्रराज प्रसाई /

बिर्सेको भए बितेका कुरा पापीको मनले
सम्झायो होला पुरानो माया त्यो चिसो हावाले ।
(स्वर र सङ्गीत : बच्चुकैलाश, शब्द : म.वी.वि. शाह)

संवत् १९९५ साल साउन १५ गतेको कुरा हो, त्यस दिन काठमाडौँ सहरमा एउटा बच्चा रोयो । रोएको १३ दिनमा नै ऊ मातृविहीन भयो, एक्लो भयो र टुहुरो भयो । उसकी आमा कृष्णकुमारीको निधनले उसको संसार टुक्रिएको थियो । उसका बाबु कर्णबहादुर बस्नेतले पनि तुरुन्तै कान्छी श्रीमती च्यापेर हिँडे । त्यसपछि ऊ अनाथ पनि भयो । अनि उसको जीवन भर्खर फक्रन थालेको एउटा कलिलो फूल शिशिरले कठ्याङ्ग्रिएको जस्तै हुन थाल्यो । त्यसपछि त ऊ झन् सारो रुन थाल्यो । त्यस बेला ऊ जति रोयो धुरुधुरु रोयो, भक्कानिएर रोयो र चिच्च्याएर रोयो । रुँदारुँदै ऊ एकान्त ठाउँ खोजेर रुन थाल्यो । सङ्गीतको भाका हालेर रुन थाल्यो र आफै गीत रच्तै आफ्नै स्वरभित्र डुबेर रुन थाल्यो । हुँदाहुँदै पाँच छ वर्षको उमेरमा नै उसले गीतसँग आफूलाई अत्यन्तै नजिक पुर्याइसकेको थियो ।

बाल्यकालमा बच्चुकैलाशका प्रमुख साथी नै गीत थियो । उसले गीत गाउँदा मामाघरका सबैले उसलाई हेलाका दृष्टिले हेर्थे र गीत गाउनबाट उसलाई वञ्चित गर्न खोज्थे । एकान्त ठाउँ खोजेर गाउँदागाउँदै त्यसबखत आफ्ना साथीभाइमाझ ऊ गायकका रूपमा चम्किसकेको थियो । परिणामस्वरूप ८ कक्षामा पुगेपछि उसले सर्वप्रथम रेडियो नेपालमा आफ्नै रचना र सङ्गीतमा गीत गायो– ‘निराश नहोऊ साथी, आँसु आँसुमै डुबेको छ जीवन, नडराऊ साथी !’ त्यस बेला यस गीतले उसलाई एक फुटमाथि उचाल्यो । त्यही गीत सुनेकै भोलिपल्ट त्यस बालकलाई खोज्दै उसका वासस्थानमा मास्टर रत्नदास प्रकाशको आगमन भयो । त्यस दिन त्यस बालकले बुझ्यो– ‘यस पृथ्वीमा मेरो पनि केही हैसियत रहेछ ।’ त्यस दिन पनि ऊ मक्खै पर्यो । साँच्चै होस बच्चुकैलाश बस्नेतको जिन्दगानीको आरम्भ यसरी नै भएको थियो ।

कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन
कैले आउला त्यो दिन जब होला मीठो मिलन !
(स्वर र सङ्गीत : बच्चुकैलाश, शब्द : सुरेन्द्रबहादुर शाह)

मान्छेका लागि आमा नै संसार हुन् । त्यसमाथि बालबच्चाका निम्ति आमा नै सर्वस्व हुन् । भनिन्छ ‘बच्चाको आमा नमरोस् र बूढाकी स्वास्नी नमरोस् ।’ तर भगवान्ले कठोरतापूर्वक बच्चुकैलाशलाई शिशुकालमा नै एक्लो बनाइदिए । प्रारम्भमा नै आमाबाबुविहीन भएर जीवनको यात्रालाई अघिबढाउने बच्चुकैलाश कठोर भावनामा नै डुबुल्किरहेका छन् । वास्तवमा मनभित्रभित्र मुटुमा उनले आफ्नी आमालाई विराजमान गराउनुबाहेक उनकी आमाको कुनै भौतिक निसानी यस पृथ्वीमा भेटिँदै न । यसै प्रसङ्गमा बच्चुकैलाश भन्छन्– ‘मेरो मामाघरमा मेरी आमाको फोटो टाँसिएको थियो । फोटो मैले झिकेँ र सानो पारेर काटेँ । अनि त्यसलाई मैले मनिब्यागमा बोकेर हिँड्न थालेँ । एक पटक गीत रेकर्ड गर्ने सिलसिलामा म कोलकाता गएको थिएँ । त्यस बेला मैले सो फोटो गीत भएको डायरीमा राखेको थिएँ । तर ट्याक्सीमा नै मेरो त्यो डायरी हरायो । त्यसै बेला मेरी आमाको फोटो पनि कोलकातामा नै विसर्जित भयो । त्यसपछि मैले मेरी आमालाई भावनामा उभ्याउनुबाहेक कहीँ कतै देख्न पनि पाएको छैन तर पनि मेरो कल्पनाका विम्बविम्बमा मैले मेरी आमालाई सदैव विराजमान गराएको छु ।’

आमाबाट बिछोड भएको क्षणको दुःखको बाछिटा बच्चुकैलाशमा पनि परेको थियो । त्यही प्रसङ्ग कोट्याएर उनी भन्छन्, ‘मैले जुन उमेरका टुहुरा भेटेँ भने पनि र टुहुरा देखेँ भने पनि म पनि त्यही उमेरमा पुगेर आफ्नो दिनचर्याको कल्पना गर्न थाल्छु । वास्तवमा मलाई टुहुराप्रति सारै माया छ । किनभने मैले आफ्नो जीवनमा टुहुरो हुँदाको अनुभवलाई गाँठो पारेर राखेको छु । ईश्वरले सबैको सबै थोक छिनोस् तर कुनै पनि बालबच्चाको आमा नछिनोस् ।’

बच्चुकैलाश सङ्गीतका पक्का अभ्यासकर्ता नै हुन् । उनी सङ्गीतको पाठ सिकाउन पनि त्यत्तिकै कुशल छन् । कुनै समय कविवर म.वी.वि. शाहबाट गीतकार जी. शाहलाई सङ्गीतसम्बन्धी ज्ञान प्रदान गर्न सक्रिय थिए बच्चुकैलाश । राजाका छोराले सङ्गीत सिक्ने प्रसङ्गबाट त्यसबेला उनी ज्यादै खुसी थिए । किनभने त्यस बेला नेपाली समाजमा सङ्गीतलाई तिरस्कार गरिन्थ्यो । त्यस्तो बेलामा उनी सधैँ मनभरि, मस्तिष्कभरि र आँखाभरि सङ्गीत बोकेर अघिसर्ने गर्थे । त्यस घडी उनी रङ्गमञ्चहरूमा पनि गएर आफूलाई प्रस्तुत गरिबस्थे । उनको स्वरको मिठासमा डुबेर स्रोताहरू उनको प्रशंसामा अघाउँदैनथे । किनभने उनी गीत लेख्ता मुटुबाट लेख्थे, सङ्गीत गर्दा हृदयबाट गर्थे र गीत गाउँदा भावनाबाटै गाउँथे । उनका रचनामा मिर्मिरेको लाली पोतिन्थ्यो, उनका भाकामा पूर्णिमाको जून टाँसिन्थ्यो र उनका स्वरमा मनोहारिताको गुञ्जन फैलन्थ्योः

मायाले, मेरो मायाले
टाढै बसे पनि, नसम्झँदा पनि
रुवाउँछ किनस मायाले !

(स्वर, सङ्गीत र शब्द, बच्चुकैलाश)

जीवनलाई दुखैले खार्दो रहेछ । मान्छेको जिन्दगीलाई आपत्, विपत् र सङ्घर्षले नै मान्छे बनाउँदो रहेछ । साथै जीवनमा मान्छेलाई चोट परेपछि नै उसमा चमक पैदा हुँदो रहेछ । हुन सक्छ, त्यसैको परिणामले बच्चुकैलाश पनि नेपाली साङ्गीतिक आकाशका एउटा चम्किला तारा बने, सङ्गीतका अजम्बरी बुटी बने र गायनका विभूति बने । नेपाली भाषा बोलिने पृथ्वीका जुनसुकै कुनाकाप्चामा पनि उनी प्रिय छन् । उनको स्वर, सङ्गीत र रचनालाई सङ्गीतप्रेमीहरूले स्तुति गर्छन्, अर्चना गर्छन् र वन्दना गर्छन् । आफै नेपाली परिवेशका गीत लेख्तै, सङ्गीत गर्दै गीत गाउने थोरै कोटिमा बच्चुकैलाश पनि पर्छन् । उनले नेपाली भाकाका गीत जम्मा पन्ध्र वर्ष जति गाए पनि उनको नाउँ सय वर्षका बूढाको जस्तै सुपरिचित भयो । अझै उनको स्वरमा हिमशिखरको टलक छ, चन्द्रमाको ज्योति छ र बिजुलीको चमक छ ।

बच्चुकैलाश नेपाली सङ्गीतबाट केही पलायन गरेजस्तै देखिन्छन् । त्यसको पनि एउटा कारण छ । त्यो कारण के हो भने उनी स्वाभिमानी छन् । आफ्नो शिर निहुरिनबाट जोगाउन उनले नेपाली साङ्गीतिक आकाशबाट एक्कै चोटि खुट्टा झिकेका थिए । कारण के हो भने कुनै बेला मन्त्रीका छोराको बिहे, व्रतबन्ध र पास्नीमा गायकहरूलाई गीत गाउने दबाब दिइँदो रहेछ । त्यस बेलाको हेपाहा प्रवृत्तिबाट दिक्क भएर उनी यस मामलाबाट टाढा बसेको बताउने गर्छन् । उनी अहिले टाढा पनि यति टाढा बसेका छन्, जहाँ यिनीसँग प्रायः नकुनै कलाकारको भेट हुन्छ, न कुनै साहित्यकारको भेट हुन्छ र न कुनै पत्रकारको भेट हुन्छ । देशको एउटा अति उच्च स्तरीय कलाकारको सङ्गतबाट टाढिँदा नेपाली बुद्धिजीवीहरू पनि दुःखित देखिन्छन् । यति हुँदाहुँदै पनि बच्चुकैलाशको स्वरमा स्वर मिलाएर मान्छेहरूले गीत गाउने अवसर चाहिँ पाएका छन्स् ।

टाढा टाढा जानु छ साथी ! एकफेरा हाँसिदेऊ

छुटिसकेको मायालाई साथी ! एकफेरा गाँसिदेऊ ।

(स्वर, सङ् गीत र शब्द, बच्चुकैलाश)

प्रत्येक मान्छे आआफ्नै विशेषतामा हुर्केको हुन्छ । बच्चुकैलाशको विशेषता पनि एकान्तमा रमाउने रहेको छ । त्यसैले उनलाई कुनै घुइँचो मन पर्दैन, सभासम्मेलन र जुलुस पनि मन पर्दैन । उनलाई कुनै भोजभतेर पनि मन पर्दैन । कुनै पनि उत्सव, खुसियाली, पुरस्कार र सम्मानबाट टाढा बस्नु नै उनको रुचि हो । वास्तवमा उनका लागि संसार बेग्लै छ । अहिलेको रमितालाग्दो संसार उनका लागि टाढा छ । उनका लागि यो रमझम जति नै टाढा भए पनि उनी खुबै अध्ययनशील छन् । संसारभरिका दिनदिनैका घटना उनी तुरुन्तै थाहा पाउँछन् । श्रव्य, दृश्य, पुस्तक र पत्रिकाका माध्यमबाट उनी विश्वका प्रत्येक भूभागसँग परिचित रहेका छन् ।

कुनै बेला आफ्नो मुलुकको वस्तुस्थिति बुझ्ने सिलसिलामा बच्चुकैलाश देशदर्शनका लागि नेपालका पहाडपहाड र कन्दराकन्दरा पुगेका थिए । वास्तवमा त्यस बखत राजा महेन्द्रको राष्ट्रनिर्माणको महाअभियाबाट यी पनि प्रेरित थिए ।

बच्चुकैलाश बौद्धिकताले भरिएका एउटा जागरुक योद्धा पनि हुन् । उनमा गहन अध्ययन छ । उनी जसरी संवेदनामा डुबेर आफ्ना भावनाहरू व्यक्त गर्छन् त्यति नै दर्शनको नजिक पुगेर उनले सांसारिक जीवनचक्रलाई मूल्याङ्कन पनि गरेका हुन्छन् । दुई पत्नीका पति र दुई सन्तानका पिता बच्चुकैलाश थोरै बोल्छन् र धेरै सुन्छन् । स्नातकोत्तर तह समुत्तीर्ण गरेका बच्चुकैलाश सौम्य, शान्त र विशाल भावनाका धनी पनि छन्न्,

जुनेली रातमा दिल खोली दोहोरी गाउन मन लाग्यो
यो गाउँमा नमर्ने पिरती गाँस्न मन लाग्यो ।

(स्वर र सङ्गीत : बच्चुकैलाश, शब्द : लक्ष्मण लोहनी)

Share on

Leave a Reply

Your email address will not be published. Required fields are marked *