लिटरेचर फेस्टिवलमाथी केहि कुरा

विभिन्न शीर्षकका चालिस सेसनहरु टुङ्ग्याएर यसपटकको लिटरेचर फेस्टिवल सकियो। विगतमा जस्तै सकरात्मक-नकरात्मक दुवैखाले प्रतिकृयाहरु यसको वरपर छन्। क्रियाको प्रतिकृया विज्ञान भएजस्तै यसमाथिका प्रतिक्रियाहरु स्वभाविकै हुन्।

क्रिया वा प्रतिक्रियाको पनि स्तर हुन्छ र कारण पनि। नेपथ्यको खेलो जे सुकै होस्; फेस्टिवलले भाषा, साहित्यको क्षेत्रमा कर्म गरिरहेका तथा नेपाली साहित्यलाई माया गर्ने आम पाठकहरुलाई विभिन्न अवसर प्रदान गरेको छ। मन पर्दो लेखकको मन नपर्दो व्यवहार होस् वा पढिएको लेखकलाई साक्षात्कार गर्ने अवसर दुवै प्रदान गरेको छ। पुस्तकका माध्यममार्फत  आउने लेखकको विवेकलाई उसले आफ्नो सेसनमा विषयका प्रति प्रस्तुत गरेको विवेचनालाई तराजु बनाएर आम पाठकले मुल्याङ्कन गर्न पाए। सिनेमा, साहित्य र राजनीतिसँगै समसामयिक विषयमा आम सहभागीको चासोलाई उजागर गर्ने सवालमा फेस्टिवल फलदायी रह्यो।

निरन्तरताको यो क्रममा फेस्टिवललाई आयोजकले कस्तो बनाउन चाह्यो ? यो एउटा प्रश्न होला। तर उपस्थित आम दर्शक, सेसनका वक्ता, प्रस्तोता आदिले त्यसलाई कसरी प्रस्तुत र ग्रहण गरे भन्ने प्रश्न पनि आफैँमा महत्वपूर्ण छ। फेस्टिवलको समापनसँगै यसको सार्थकता खोज्ने प्रयास हुनु आफैमा सकरात्मक पक्ष हो। आयोजकको सम्बन्ध यसको व्यापारिक सफलतासँग होला, सहभागी वक्ता र प्रस्तोताको सम्वन्ध यसका क्रिया वा प्रतिक्रियासंग होला तर नेपाली साहित्यको पाठकले महसुस गर्ने पक्ष र विषय सवैभन्दा गम्भिर र महत्वपूर्ण हो।

साहित्य महोत्सव भए पनि यसपटक समसामयिक विषयले धेरै स्थान पायो। मुलुकको बदलिदोँ राजनीतिक प्रणाली र राज्य पुर्नसंरचनाको नविन अभ्यासका बाछिटाहरु महोत्सवमा देखिए। कुर्ची पाएँ, अधिकार पाईनँ भनेर मुख्यमन्त्रीहरु बकिरहेकै छन्। स्थानीय तहलाई कानुनी मेसोमेलो मिलाउँदै ठिक्क छ। जीवनस्तरमा कुनै परिवर्तन छैन्। राहदानी बोकेर लाम लाग्नेको लर्को उस्तै छ। राहदानी बोकेर उड्नु, फर्कनु, कनिकुथी एउटा घडेरी जोडेर जेनतेन एउटा घर बनाउनु र जिन्दगी सक्नु यो पुस्ताको नियती बनेको छ। निरन्तरताले नियती संस्कार बनिसक्यो। ‘गणतन्त्रपछिको नेपाली समाज’ सेसनमा नेपालको यस्तै पछिल्लो ऐना हेर्ने प्रयत्न भयो। देशभित्रका दुःखलाई पनि ‘रेमिट्यान्स साहित्यः दुःखदेखि दुःखसम्म’ सेसनले दुखी बनायो।

देशको विभिन्न स्थानमा आगो बल्दै गर्दा कोरिएका संघीय सिमानाहरु, मुलुकको ठूलो जनसंख्यालाई अस्तित्वहिन सम्झेर जारी भएको संविधान, समृद्धिको उज्यालो सपना मुन्तिरका अँध्यारा बस्तिहरुबाट आज पनि निरन्तर आवाज आईरहेको छ। चित्कार र आक्रोससँगै निरन्तरतामा बनेका घाउका आर्तनादहरु छन्। उठेर बोल्नेहरुको आवाज हावाले उडाएको छ। बसेर बोल्नेहरुलाई नसुन्ने चलन चलाईएको छ। भिन्न भाषा, भिन्न संस्कृति, रहन–सहन र रितिरिवाज जसरी बर्षौदेखि यो वा त्यो सपनाको सेप लागेर सेपिए आजपनि दुर्घटनाको त्यहि खतरामा छन्। आञ्चलिक स्वरहरुको अस्तित्व संघीयताको स्वरुप निर्माणमै दुर्घटित भयो। जसले समाजको तल्लो तप्कासम्मै पहिचानको मुद्धालाई बहसमा ल्यायो कालान्तरमा उसैलाई पहिचानको भारी गह्रौँ भयो।  समाजको तल्लो कुनासम्म सल्किएको पहिचानको आगो भित्रभित्रै धुँवा बनेर अझै उडिरहेको छ। केहि समय निभेजस्तो देखिएको यो आगो फेरि बल्ने अवस्था त छँदै छ, पुरै आगो निभिसक्यो भन्ने मानसिकतामा राज्य बस्नु बडो अर्थपूर्ण छ। यसकै वरपर रहनुपर्ने ‘संघीय नेपालमा आञ्चलिक स्वर’ घरि कता घरि कता बरालियो।

सुतुरमूर्गले झैँ आफ्नो टाउको बालुवामा गाढेर समस्याको हल हुने होईन। समस्यालाई मिहिन ढङ्गले केलाएर उचित समाधान निकाल्नु राजनीतिक नेतृत्वको उत्तरदायित्व हो। हामीकहाँ समस्यालाई सपनाको बर्को ओढाएर लुकाउने प्रयत्न हुन्छ, भइरहेका छन्। ‘बोक्न त बन्दुक नै बोक्नुपर्ने हो तर लाछी भएर कविता लेखियो..। नत्र हामीलाई पनि रहर छैन बारम्बार यो राज्यलाई गाली गरेर बसौं।’ ‘प्रतिरोध’ सेसनमा कवी उपेन्द्र सुब्बाले बोलेको यो वाक्यले धेरै कुराको संकेत गर्छ। आजको व्यवस्थाको अवस्था देखाउँछ। प्रतिरोध जरुरी छ। प्रकार फरक हुनसक्छ।

सहभागिताको दृष्टिले हिट सेसन रह्यो ‘अबको नेतृत्व : कस्तो, कस्को?’ प्रस्तुतकर्ताको फितलो प्रस्तुतीबाटै बिटुलिएको यो सेसनमा बाँकी प्रस्तुतीको जिम्मा रविन्द्र मिश्रले लिए। संम्वृद्धिको सपना देखाएर सरकारमा पुग्नेहरुलाई घरभाडा र तेलले लोप्पा खुवाईदियो। सरकार र राजनीतिक दलको अराजकता र विकृतीलाई  सार्वजनिक सभामा स्विकार गर्ने साहस नारायणकाजी र गगनले गरे । दल र नेता बन्ने मौजुदा परिपाटी र अवस्था बदल्न पहल गर्नुपर्ने भन्दै नेतृत्वलाई गाली गरेर नेतृत्व बन्ने होड गलत हुनेमा कुरा मिल्यो। खास होला भन्नेका लागि खास केही नहुँदै सेसन सकियो।

‘अँध्यारो उज्यालो’ विजयकुमार र रवि लामिछानेका कारण चर्चामा थियो। दुवैको आफ्नै अन्दाज, एउटा जवाफमा गम खाने, अर्को समय कम खाने। विषयभन्दा अन्दाज नै बढि बिक्यो। ‘सहर साथी र सपना’ नेपाली चलचित्र र साहित्यमा स्थापित तीन मित्रहरुको सेसन रोचक थियो। दूर–दराजका गाउँमा फुलेका सामान्य सपनाहरुले सहरमा स्थापित हुन आफैँमा गरेको संर्घषको कथा हरेकलाई सिकाईयोग्य थियो।

धारणा कसरी बनाउने र त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने सिकाएर खगेन्द्र संग्रौलाले म किन राष्ट्रवादी होईन भन्ने सेसन सके। कुनै राजनीतिक दलले राष्ट्रियकरण गरेको चल्तिको राष्ट्रवाद भित्रका तमाम राष्ट्रवादीहरुलाई अराष्ट्रिय करार गर्दै खगेन्द्र आफ्नो सदाकालीन विमतिसहित राष्ट्रवादी बने। दृष्टिचेतको अर्को सकरात्मक पाठ प्रदीप गिरीले दन्त्यकथाबाटै दिए। सामान्य दन्त्यकथाका माध्यमले मनोसामाजिक दृष्टान्त दिन सानो अध्यन र अनुभवबाट सायदै सम्भव छ। दर्शक पाउने र चासोका साथ सहभागी हुने सवालमा विगतजस्तै संग्रौला र गिरी अब्बल देखिए।

‘किन घुम्ने नेपाल’ प्रायोजित देखियो। संसदको लेखासमितिको अनुसन्धान र वाइड–बडी जहाज खरिद प्रकरण यो सेसनका प्रमुख वक्तासँग सम्बन्धित विषय थियो। विषयकाप्रति देशभर विभिन्न खाले आरोप र अनुमानहरु थिए। गृहनगरमा माननीयले आफ्ना तर्फबाट बिषयलाई प्रस्ट पार्नसक्ने अवसर थियो। दर्शक पर्याप्त थिए। देशका प्रमुख मिडियाका सम्पादक र पत्रकारहरुको उपस्थिति पनि थियो। अवसर ‘किन घुम्ने नेपाल’मैँ सकियो। पर्यटक आगमनको सामान्य डाटा र आम नेपालीलाइ लगभग थाहा हुने सामान्य गन्थनमा सीमित सेसनका अन्य वक्ताहरु मन्त्रीज्युकै हो मा हो मिलाएर बसे। मानौ, मन्त्रीज्युको एकल सेसन पर्याप्त थियो।

समसामयिक विषयका प्रति आम सहभागीहरुको चासो सर्वाधिक रहनुले कहिँ न कहिँ नेपाली समाजको प्रतिबिम्ब प्रस्तुत गर्छ। महिला सहभागिता र चासो यो फेस्टिवलको अर्को महत्वपूर्ण पक्ष हो। विगतको तुलनामा महिला विषयक बहस यसपाली प्राथमिकतामा थियो। पूर्व प्रधानन्यायधिस सुशीला कार्कीहुँदै सुरु विषयको विट फेस्टिवलको अन्तिम सेसन कवितासम्म मर्दै मरेन। महिलासँग सम्वन्धित असमानता र विभेदका थुप्रै विषय, अत्याचार र अपराधका विरुद्ध नेपाली समाजका आवाजहरु मुखरित भएको समयले संकेत गर्‍यो। अर्चना थापाको नारीवादी बहसदेखि सावित्री गौतमको मिटूसम्म समाजले महिलालाई मानिसको दर्जा दिनै ईन्कार गरिरहेको अवस्थालाई उजागर गर्‍यो। मनिषा कोइराला, मञ्जुश्री थापा, आनी छोइङ्, ऋचा शर्मा, भूमिका श्रेष्ठ, दुर्गा सोबलगायत सबैले महिला र समाजको नजरको विभेदमाथि बोले।

सीमा बस्नेत र संगीता मगरको पिडादायी अनुभवले समाजको निकृष्टताको मापन मात्र गरेन् सर्घष र हौसलाको पहाडसमेत उभ्यायो। निर्मलाको तस्विर सहित ‘जस्टिस फर निर्मला’ लेखिएको स्टिकर अङ्कित झोला बोकेर, ज्याकेट लगाएर, प्लेकार्ड समातेर स–साना स्कुले नानीहरुदेखि सयौं मानिसहरु फेस्टिवलमा उपस्थित हुनुले समाजको भय र न्यायको विडम्वना चित्रित गर्‍यो।  व्यवस्था परिवर्तनका लागि अथक मेहनत र विद्रोह गरेका महिलाहरुले आफ्नै अवस्था परिवर्तनका लागि घरभित्रै विद्रोह गर्नुपर्ने अवस्था आजपनि ज्यूँका त्यूँ छ। पोथी बास्नु हुँदैन भन्ने मान्यताले घरकै मझेरी पार गर्न सकिरहेको छैन्। राजनीतिक नेतृत्वले नै महिलालाई देशभर ‘उप’मा सीमित पारेर महिला शक्ति र अधिकारलाई झनै कुण्ठित पारेको छ।

समग्रमा, नेपाली साहित्यका पाठकका लागि यो अवसर हो भने आयोजकका लागि आफ्नो व्यासायको प्रवद्र्धन। यहाँ दुवै भयो। यो फेस्टिवलका प्रति प्राप्य प्रतिक्रियालाई आयोजकले मात्र प्रचार सोच्न छाडेर अर्थोक पनि सोचिदेओस् भन्ने सहभागी सवैलाई लाग्ला। ‘त्यत्रा चालिस सेसनमा दुई चारवटा सेसन झुर भएर के भो त? भै हाल्छ नि!’ भन्ने सोच्नु फेस्टिवलमा उपस्थित दर्शकमाथिको ठगी हो। पुस्तक र साहित्यको आवरणमा ठगी बन्द होस्। भाग पुर्‍याउन हो वा र मिडियामा समानुपातिक पहुँचका लागि आयोजकको छनौटमा परेका कतिपय मिडियाकर्मी प्रस्तोताकै प्रस्तुति खल्लो बन्यो। ‘हामीले लेखेका पुस्तक पढ्नेहरु नै त आउने हुन् नि’ भनेर बिनातयारी माईक समात्ने सेसनका साहित्यकार प्रस्तोताहरुले समेत यसपटकको फेस्टिवलमा दर्शकलाई केहि निरास बनाए।

यसो त, फेस्टिबल किन? कसले? केका लागि? मूलरुपमा कसका लागि? र कुन उद्देश्य प्राप्तिका लागि आयोजना गर्‍यो? भन्ने विषयका बारेमा धेरथोर जानकारी हुनासाथ धेरै जिज्ञासाहरुको एक हद समाधान हुन्छ। यो संस्करणसम्म आईपुग्दा लिटरेचर फेस्टिवल एउटा व्यावसायिक कार्यक्रमको स्वरुपमा तयार छ र आयोजकले गर्ने व्यावसायको माध्यम साहित्य हो। भलै, पाठकका लागि यो अवसर पनि हो।

राज्यको प्रत्यक्ष वा परोक्ष संलग्नतामा आयोजित यस्ता प्रकारका कार्यक्रमहरुमा आम भुँईमान्छेको प्रतिनिधी लेखकका रुपमा चिनिएका लेखकहरु किन साक्षी मात्र बस्छन्? नगन्य नै सहि प्रतिरोधी साहित्यका माध्यमले चिनिएका यस्ता लेखकहरुको उपस्थिती आयोजकलाई किन जरुरी छ? सेसनहरु धेरथोर सिर्जनशिल र सहभागितामूलक बनाउन अनुरोध गर्ने यसअघिका सहभागीहरु किन दोहोरिँदैनन्? आदी केहि सवालहरुको जवाफ फेस्टिवलका आयोजक वा सहभागीसंग होला ! हामीसंग अर्को संस्करणको प्रतिक्षा छ।

Share on
  • 8
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *