समाजका लागि ग्रहण अयोग्य प्रसाद

नेपाली सिनेमा जगत आसा, सम्भावना र प्रयोगको त्रिवेणीमा छ । अझैपनि उद्योगका रुपमा फस्टाउन नसकेको यो क्षेत्रमा हजारौं मानिसहरु आफ्नो भविश्य खोजिरहेका छन् । छनोट सहि हुँदा प्रविधि र अभिनयमा अब उस्तोसारो गुनासो गरिहाल्नुपर्ने अवस्था छैन् । शहरमा सिनेमा हलको गुणस्तरसमेत सुध्रिएको छ । पात्र प्रधान सिनेमा मेकिङबाट चरित्र प्रधान सिनेमा मेकिङतर्फको आकर्षण बढेको छ । एक वा दुई नायकमा भर पर्नुपर्ने अवस्थाबाट पोष्टर माथी उठेको छ । हिरोइजमको अलग भास्य निर्माण गर्ने प्रयास भएको छ । यी सवैका बाबजुद नेपाली सिनेमामा लाग्ने आरोपको चोर औंला निर्देशक र पटकथाकारतर्फ सोझिन्छ । नेपाली सिनेमा बजारको खाँचो ‘सोच’ हो । ‘सोच’ पटकथाकार र निर्देशकको कामले देखिनुपर्छ ।
पछिल्लो समय नेपाली सिनेमाबृतमा चलेको एउटा लहर भनेको सिनेमामा आञ्चलिकताको प्रयोग हो । अग्र्या्निक सिनेमा बनाउने रहरको लहरले सिनेमा कति अग्र्या्निक बने वा बनेनन् त्यो अर्कै पाटो होला तर यो लहरमा स्थानिय लवजले भने सिनेमामा राम्रै प्रवेश पाएको छ । मौलिकताको नाममा बन्ने गरेका सिनेमाले त्यसका सिमाहरु निर्धारण गर्न नसकेपनि स्थानिय लवजसंगै नेपालका दुरदराजहरु सिनेमामा अटाएका छन् । यो राम्रै कुरा हो । मौलिक र अग्र्या्निक भनेर बनिरहेका सिनेमाको यहि लहरमा बनेको थप एक सिनेमा थियो । ‘प्रसाद’
निश्चित हो । सिनेमाघरमा पुगिसकेपछि सिनेमाले सामान्यत् तीनखाले प्रतिकृयाहरु पाउँछ । राम्रो, नराम्रो र ठिकै हो । हदै हुँदा झुर र ब्लकबस्टरसम्मको उपमा सिनेमाले भिर्छ । सिनेमाका प्रायोजित, नियोजित वा सामान्य समिक्षाहरु आउँछन् । हामीलाई थाहा छ नेपाली सिनेमा बजारमा समेत अस्वस्थ प्रतिष्प्रर्धाहरु छन् । यो सब् सामान्य भईसकेको छ । सार्वजनिक कृतिका लागि कृतिकार यतिसम्म त तयार हुनैपर्छ । हामीकहाँ समिक्षाका नाममा भजन गाउने र गाली गर्ने प्रबृति हावी छ । ‘प्रसाद’ नियमितताकै त्यहि प्रबृतिमा प¥यो । यहाँ मैले भन्नैपर्छ यो सिनेमाको रिभ्यू होईन् । ‘प्रसाद’ को एक सामान्य दर्शक र ‘प्रसाद’ माथी लेखिएका विभिन्न समिक्षाहरुको एक पाठकका रुपमा उब्जिएका विषयहरुको यो सामान्य मनेसो हो । विशिष्ट मनेसोहरु यसअघि नै स्वनामधन्यहरुबाट आईसकेको छ ।
सिनेमा प्रदायक भारतीय टेलिभिजनका प्रमूख कारण नेपालमा यतिबेला साउथ ईण्डियन सिनेमाको व्यापक दबदबा छ । यो दबदबाका दर्शकलाई सोचका सिनेमाहरु झुर पटास लाग्लान् । तर, सिनेमाको जसरी स्तर हुन्छ ठिक त्यसरी नै सिनेमा दर्शककोपनि स्तर हुन्छ । अक्सर, सिनेमाले दर्शकपनि आफ्नै स्तरको पाउँछ । स्वभाविक हो, जुन स्तरका दर्शक सिनेमाले पाएको हुन्छ त्यहि स्तरका प्रतिक्रिया बजारमा आउँछन् । बजार नपत्याउनु मेकरको हठ हो । हठ प्रयोगसिद्ध नहुञ्जेल खेलाँची बाहेक अर्थोक हुँदैन । सानो सिनेमा बजारमा खेलाँची बहुत चल्छ । मेकिङका द्धष्टिले ‘प्रसाद’ खेलाँची थिएन ।
नम्रता श्रेष्ठ, विपिन कार्की, निष्चल बस्नेत अभिनित ‘प्रसाद’ आम नेपाली सिनेमाभन्दा माथीको सिनेमा हो । ‘प्रसाद’ सोचको सिनेमा हो । तर, ‘सोच’का सवै सिनेमा राम्रा हुँदैनन् । ‘प्रसाद’ राम्रो सिनेमा हुँदा हुँदै राम्रो सोचको सिनेमा बन्न सकेन ।
सिनेमामा मौलिक कथाको बान्की सामान्य छ । आञ्चलिक परिवेशलाई संवाद संम्प्रेशणका माध्यमले जिवन्त राखेको छ । केहि कस्मेटिक लेपन विर्सदा अभिनयमा खोट लगाउने ठाउँ कम छ । पात्र स्थापित गर्न खर्चिएको समय र मनोविज्ञान चित्रणमाथीको हतारो दर्शकले मेसो पाउनु फिल्मका सामान्य कमजोरी हुन् । जसलाई पात्रहरुको अभिनयले छायाँमा पारेर सामान्य बनाएको छ ।
सिनेमाले सामाजिक विषयमाथी हात हालेको छ । जातमाथीको सामाजिक विभेद र त्यसका बाछिटाहरुबाट सिनेमाको उठान भएको छ । महिला पात्रको उपस्थितीलाई सामाजिक र मनोबैज्ञानिक द्धष्टिले स्थापित गर्न खोजिएको छ । विपिन कार्कीलाई सहायक र नम्रता श्रेष्ठको भूमिकालाई नायकका रुपमा स्थापित गर्न खोज्ने निर्देशकीय प्रयास नायक पात्रको नायकत्व स्थापित गर्ने सवालमा नकारात्मक छ ।
बाबुराम परियार (विपिन कार्की)ले वडा अध्यक्षकि छोरी नारायणी क्षेत्री (नम्रता श्रेष्ठ) संग अन्तरजातीय प्रेम बिबाह गरेर शहर पस्दै गरेको दृश्यबाट कथाको उठान गरेको फिल्मले जातीय विभेदबारे समाजको पछिल्लो अवस्था चित्रण गरेको छ । फिल्ममा उठाईएका मुलभूत विषयहरुमध्य जातीय विभेद र समाजको अवस्थापनि एक हो । शहरमा कोठा खोज्न जाँदा घरधनीले जात सोध्नु, बाबुरामले आफ्नो थर परियार भनेपछि कोठा खाली छैन भन्नु, रमेश( निश्चल बस्नेत)ले नारायणीलाई बेला–बेलामा बाबुरामसंग विवाह गरेर गल्ति गरेको, बुद्धिले काम नगरेको भन्नुु जस्ता आधारहरु प्रस्तुत गरेर जातीय विभेदप्रति समाजको पछिल्लो द्धष्टीकोणलाई निर्देशकले प्रस्तुत गरेका छन् । शहरमा स्थापित हुन बाबुरामले गरेका प्रयासहरुमाथी निर्देशकीय सोच स्पस्ट छ । ग्रामिण परिवेशका दलितहरु पुर्खाबाट बर्षौदेखि हस्तान्तरित सिपकै रामभरोषामा छन् भन्ने देखाउन निर्देशकलाई कुनै अप्ठ्यारो छैन् । फिल्ममा बाबुराम कि राम्रो सिउँछ । कि राम्रो गाउँछ । फिल्ममा एक दलित पात्रलाई असहाय, सम्झौतामा बाँच्न बाध्य र विवश तथा निरिह देखाउन निर्देशक सफल छन् । क्षेत्रीनी भगाउने र फिल्मको मुख्य पात्र नारायणीलाई सघाउने कर्ममा बाहेक बाबुराम फिल्मभर निरिह लाग्छ । केहि समय अघि ‘साइड हिरो’का ब्रजेशलाई पढेको थिएँ । त्यहाँ उनले लेखेका छन् –‘आफ्नो जिन्दगीको हिरो बन्ने रहर सवैलाई हुन्छ ।’ सिनेमामा विपिन आफ्नै जिन्दगीको हिरो बन्न समेत असफल छन् । विपिनले विगतदेखिकै स्वभाविक र दर्शकको अपेक्षा अनुरुपको अभिनय गरेका छन् । उनको अभिनयमा बाग्लुङे लवज पत्यारिलो लाग्छ ।
फिल्मले उठाएको अर्को महत्वपूर्ण विषय नारायणीको आमा बन्ने चाहको मनोविज्ञान हो । निर्देशकले ‘प्रसाद’को मेन थिम जस्टिफाईका लागि सवैभन्दा वढि मेहनत गरेको र आफ्नो सोच देखाउन खोजेको विषयपनि शायद यहि हो । जो, अन्य कुनै बहाना र सोझो बाटोबाट शहरमा कोठा नपाएपछि नारायणीले गर्भवती महिलाको अभिनय गरेर कोठा पाउनुबाट शुरु हुन्छ । यो मनोविज्ञानले सिनेमामा पटक पटक प्रवेश पाउँछ । नारायणीको आमा बन्ने उत्कट अभिलासा स्थापित नगरुञ्जेल निर्देशक सिनेमाको मेन थिममा जानै सक्दैनथे । आफ्नो सोच स्थापित गर्न निर्देशकले पात्रहरुलाई तयार पारेका छन् र सफलपनि छन् । नारायणीलाई निर्देशकले कहिँ न कहिँ एक विद्रोही पात्रका रुपमा समेत स्थापित गर्ने प्रयास गरेका छन् । वडा अध्यक्ष र क्षेत्रीको छोरी नारायणीले दलितसंग प्रेम विवाह गरेकि छे । प्रेम र विवाहसमेत नारायणीकै करबलले सम्भव भएको संकेत बाबुरामको एक संवादले सिनेमामा व्यक्त गर्छ । वच्चाका लागिसमेत फिल्ममा बाबुरामभन्दा नारायणीलाई अघि सारिएको छ । कोठा खोज्ने सवाल होस् चाहे रमेशको चरित्र चिन्ने सवाल । बाबुराम सुधो र नारायणी टाठोबाठो देखिन्छे । क्षत्री बाहुनहरु दलितभन्दा टाठाबाठा हुन्छन भन्ने निर्देशकीय अन्र्तमन नचाँहदा नचाहँदै नै सहि सिनेमामा पोखिएको छ । आमा बन्ने उत्कट अभिलासाको मनोविज्ञानमाथी खेलेको सिनेमाले बलात्कारलाई प्रश्रय दिएको छ । जे जसरी पुष्टि गर्न खोजेपनि आमा बन्नका लागि बलात्कार उपयुक्त विकल्प होईन् । प्रेमका लागि समाजसंग भिड्नसक्ने पात्रका रुपमा स्थापित गरेर नारायणीलाइ निर्देशकले बलात्कारसंग सम्झौता गर्ने पात्रका रुपमा टुङ्ग्याईदिएका छन् बलात्कारीको विर्यलाई प्रसादका रुपमा ग्रहण गर्न सिकाएर टुङ्गीने फिल्मले दिने सन्देश पक्कैपनि हाम्रो समाजका लागि ग्रहण योग्य विषय होईन् । बलात्कारीलाई सामान्य अपराधबोध भएकोसमेत फिल्मले देखाउन नसक्नु अर्को दुर्भाग्य हो । निर्देशक ज्यु, आफ्नै दिदीबहिनीहरुलाई सोध्नुहोस् । श्रीमानको असक्षमतामा आमा बन्ने अन्य सम्भावनाका ढोकाहरु थुनेर बलात्कारीको विर्यलाई प्रसादका रुपमा ग्रहण गर्न नेपाली समाजका नारीहरु तयार छन् कि छैनन् ? होईन भने कथित उपल्लो जातको बलात्कारीको विर्य कथित तल्लो जातको दलितलाई प्रसादका रुपमा ग्रहण गर्न लगाएर तपाईले दिन खोजेको सन्देश के हो ? स्थापित गर्न खोजेको मूल्य र मान्यता के हो ?
मुख्य द्धन्द्धभन्दा अघि पात्र स्थापित गर्न निर्देशकले जति समय खर्चेका छन् । त्यसको अनुपातमा निर्देशकले आफ्नो सोच स्थापित गर्न हतार गरेको देखिन्छ । फिल्मको मुख्य घटनापछि निर्देशकसंग आफ्नो सोच स्थापित गर्न जुन समय र अवसर बाँकी थियो त्यहिँ निर्देशकले हतारो गरेका छन् । सब्जेक्टलाई सोसलाईज नगरेर पर्सनलाईज गर्नु नै निर्देशकले सिनेमालाई राम्रो सोचको सिनेमा बनाउने विषयमा चुक्नु हो भन्ने मेरो ठम्याई छ । ‘प्रसाद’ सोचको सिनेमा हुँदाहुँदै राम्रो सोचको सिनेमा बन्न सकेन । देशमा अत्यन्तै जटिल सामाजिक समस्याको रुपमा रहेको बलात्कारजन्य अपराध र सो संग सम्वन्धित सिनेमा बनाउँदा कमसेकम सुशील पौडेल र दिनेश राउतजस्ता व्यक्तिहरुको सोचसंग यो अपेक्षा पटक्कै गरिँदैन् ।
सिनेमाका सामान्य कमजोरीहरुमाथी व्यापक टिप्पणीहरु भईसकेका र भईरहेका छन् । सिनेमाका राम्रा पक्षहरुमाथीपनि व्यापक प्रशंसा र दर्शकको साथ फिल्मले पाईरहेको छ । काम गर्दा नै आलोचना र प्रशंसा हुन्छ । दुवैबाट यहाँहरुको बाँकी कामले राम्रो सोचको सिनेमा बनाउन सकोस् शुभकामना ।
–मन क्षत्री

Share on
  • 4
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *