साइड हिरोसंग पोखरामा एकछिन..

मन क्षेत्री,पोखरा /
प्रकाशन गृहको तामझाम पोखरामा छैन् । कहिलेकाँही हुने प्रचारको तामझाम भने यहाँपनि भेटिन्छ । प्रकाशन गृह उतै हुनुले हुनसक्छ पोखरेली लेखकहरुसमेत आफ्नो कृतिको पहिलो विमोचन नेपाल खाल्टोमै गर्छन् । बाँकी रहन्छ गृह विमोचनको औपचारिकता । प्रचलन भइसकेको यो विषयका विपरित नेपाली सिनेमा जगतको एक समय पटकथाकारका रुपमा एकछत्र राज गरेका पटकथाकार,लेखक ब्रजेश आफ्नो पछिल्लो कृति ‘साइड हिरो’ सहित पोखरामा भेटिए । नेपाल खाल्टोको मोह मारेर ओर्लेका ब्रजेशले ‘साइड हिरो’लाई बरिष्ठ साहित्यकार सरुभक्तको हातबाट पोखरामा विमोचन गरे । र्यान्डम रिडर्स सोसाईटी अफ नेपालले मिलाएको चाँजोपाँजोमा ब्रजेश पोखरेली साहित्यकार र अनुरागीहरुका माझ खुलेर बोले । ‘पैताला’ लेखक गनेस पौडेलले राखेका केहि सवालसहित साइड हिरोका ब्रजेशलाई हामीले यहाँ प्रस्तुत गरेका छौ ।

गनेस– दाईलाई यो किताव लेख्ने आवश्यकता अहिल्यै किन महसुस भयो ?
ब्रजेश – किताबको अन्त्यतिर संस्मरणहरु सकिएपछि मैले लेख्यापनि छु । झण्डै झण्डै तीन दशक नेपालको चलचित्र क्षेत्रमा ( रेडियो, टेलिभिजन र चलचित्रमा ) विताईसकेपछि, कस्तो हुँदो र छ भने म चैं केहि चिजको पनि रेर्कड नराख्ने मान्छे । अल्छी, त्यो नचाहेर होइन नसकेर, अभिलेख केहिको पनि नराख्ने, अंक सम्झनु प¥यो भने त्यो चैं मलाई सबभन्दा गा¥हो लाग्छ । स्कूल पढुञ्जेलपनि हिसाबमा सवभन्दा चुत्थो मै हुन्थें । एसएलसी नै पास हुन्न कि भन्ने बडो ठुलो चिन्ता हुन्थ्यो । अरु कुनै सब्जेक्टले होइन कि त्यहि हिसाबले । सत्रौं पटक अठारौ पटकमा एसएलसी पास हुनेहरुको समाचार कहिलेकाही पत्रिकामा आउथ्यो नि ! मलाई यसको रेकर्ड चैं मैले भङ्ग गर्छु जस्तो लाग्थ्यो के ! अंक संग असाध्यै ठुलो दुस्मनी । यसो फर्केर हेरेको झण्डै तीस बर्ष बिताइएछ । त्यो पनि असाध्यै दुख गरेर काम गर्ने बेलामा । अहिले जस्तो प्रविधि थिएन् । एक एकवटा डिर्पाटमेन्टमा असाध्यै मेहनत गरेर काम गनुपर्ने बेला । व्यावसायिकता थिएन् । सुनेकै भरमा कतिपय चिजमा काम गर्नुपर्ने अवस्था थियो । यी संस्मरणहरु पछि त विर्सिदै जान्छ । हराउँदै जान्छ । रेकर्डहरुपनि छैन । अहिलेसम्म त अलिअलि मेमोरीले काम गरिराछ पछि त्यो पनि विर्सेला भनेर लेख्नुपर्छ भन्ने विचार गरिराथें । लेख्दै गरेको स्तम्भ ठ्याक्क बन्द ग¥या थें । ती विषयलाईपनि कुनैदिन स्तम्भकै रुपमा लेख्नुपर्ला भनेर सोचिराथें । नेपालगञ्जको लिटरेचर फेस्टिबलबाट फर्कने बेलामा नारायण वाग्ले र म संगै प¥याथ्यांै । वहाँले किन स्तम्भ रोक्या भनेर सोध्नु भो । अर्को स्तम्भ शुरु गर्छु भनेर मैले भने । कस्तो ? भनेर वहाँले सोध्दा मैले यस्तो यस्तो भनेको हैन यो त किताब लेख्नुपर्छ भन्नु भो । अनि वहाँले भनेपछि यसलाई किताबका रुपमा लेख्न थालियो ।

गनेस– हामीले ब्रजेशलाई नेपाली सिनेमाको सफल पटकथाकार र कथाले माग्दा कहिलेकाँही शोैखले पर्दामा देखिएको कलाकारका रुपमा चिनेको हो । किताब पढ्दै गर्दा व्यापक फरक भेटियो । एउटा सफल पटकथाकारको चाहाना त पटकथाकार बन्नु नै रहेनछ । फिल्मको हिरो बन्ने पो रहेछ ?

ब्रजेश – त्यो बेलामा यो क्षेत्रमा छिर्दा हिरो बन्ने भनेर नै छिरेका हो । स्कृप्ट चैं बरु शौखले लेख्न थालेको हो । तर पछि यस्तो भैदियो कि मेरो अभिनयले भन्दा बढि स्कृप्टले मलाई चिनाउन थाल्यो । पछि त्यस्को अर्थ बुझ्दै गएँ । शुरुशुरुमा चित्तपनि दुख्यो, किनभने टेलिभिजनमा हिरो भएर त्यस्लाई हिरो मानिदैन थ्यो त्यो बेलामा । हिरो बन्न ठूलो पर्दाकै हिरो बन्नुपर्छ भन्ने मान्यता थियो । ठूलो पर्दामा चैं जति कोशिस गर्दापनि साईड हिरोभन्दा बढि त ज्यान गएपनि जानै सकिएन । अमिताभ बच्चन बन्छु भनेर आको दिपक तिजोरी बनाएर छोड्यो । यसले शुरुशरुमा त नरमाइलो नै लाग्थ्यो तर पछिपछि लेख्दै गएपछि लेखकले त आफ्नो अलग्गै संसार सिर्जना गर्छ । पात्रहरु सिर्जना गर्छ । तीनको भविश्य सिर्जना गर्छ । जब कुनै लेखकले त्यो सिर्जना गर्छ तब न त्यसमा कुनै अभिनेताले अभिनय गर्छ भन्ने बुझ्दै जान थालेपछि त्यो लोभ हराउँदै गयो । एकदमै अल्लारे उमेरमा यो क्षेत्रमा छिरेको भएर त्यो उमेरका कारणले पनि हिरो नै बन्नुपर्छ भन्ने त्यो रोमान्टिसिजम त्यतातिर थियो होला । पछि परिपक्क बन्दै जाँदा हिरो भनेको पर्दामा मात्र होइन र छ अन्तपनि धेरै ठाउँमा बन्न सकिँदो रहेछ भन्ने लाग्यो । फेरि त्यो बेलामा नेपाली फिल्ममा स्कृप्टपनि कसैले लेख्दैनथ्यो । बम्बैमा गएर देबुसेन भन्ने एकजना लेखकलाई लेख्न लगाएर नेपालीमा उल्था गर्ने चलन थ्यो । मैले लेख्न थालेपछि नेपालमा पनि स्कृप्ट लेख्न थालियो भनियो र त्यसको त्यसरी नै चर्चा हुँदै गयो ।

गनेस– तपाईको हिरो हुने चाहाना तपाईको पटकथा लेखनमापनि देखिन्छ । तपाईले आफू हिरो हुनका लागि गरिएका यत्नहरुलाई कहिँ कतै नियतीले ठगेको, कुनै अदृस्य शक्तिलाई स्विकार गरिएको वा तपाई कालान्तरमा आफ्नो इनर ट्यालेन्टतिर लागेको जस्तोपनि त देखिन्छ नि ?
ब्रजेश – हुन सक्छ । नियती भनौ, अदृष्य शक्ति भनौ, भगवान भनौं त्यो एउटा अदृष्य शक्तिले हामीलाई कन्ट्रोल गर्छ । हाम्रा सारा चिज चै त्यसको अधिनमा छ । साईन्सले के के बनाईराछ तर एउटा झिंगा बनाउन सक्या छैन् । कमिलापनि बनाउन सक्या छैन् सुपर कम्प्युटर बनाएर के गर्नु ? भनेपछि, हामीलाई नियन्त्रण गर्ने कुनै शक्ति छ । अहिले आएर मलाई सिनेमाको हिरो हुन सकिन भनेर गुनासो छैन् । अभिनय गर्ने हिरो नभएपनि स्कृप्ट राईटरपनि हिरो हुनसक्छ भन्ने कुरा पछि मैले प्रुफ गर्न सके । एउटा हिरोले लिनेभन्दा धेरै पारिश्रमिक दिने मान्छेहरुपनि मैले पाएँ । आफ्नो जिन्दगीको हिरो बन्ने रहर त सवैलाई हुन्छ नि ! त्यो बेला सिनेमाको हिरो बन्ने रहर पो मेरो थ्यो त ।

गनेस– तपाईले लेखेको पहिलो स्कृप्ट कुन हो र म मा त्यो खालको क्षमता, खुवी छ भन्ने चिज तपाईलाई कसरी आयो ?

ब्रजेश – नेपाल टेलिभिजनका लागि ‘पञ्चतन्त्र’ भन्ने एउटा जातक कथामा आधारित टेलिसिरियल बनाउने भनेर निर शाहले मेरो बुवालाई भन्नु भो । उहाँले त्यसमा छ, सातवटा जति बनाउनु भो । जनावरलाई मान्छेमा ढालेर कथा बनाउने भनेर । अब, मेरो अभिनय गर्ने रुचि सानै देखिको । नेपाल टेलिभिजनको त्यति बेलाको बजेटै कति हुन्थ्यो र ! घरकै मान्छेलाई अभिनय गरायो भने बजेटपनि बँच्छ भनेर होला मैले पनि त्यसको पाँच छ भागमा अभिनय गर्ने अवसर पाएँ । तर त्याहाँ के भो भने फिल्डमा गईसकेपछि बुवासंगै कुरा नमिल्ने के ! हाम्रो जेनेरेसन अमिताभ बच्चन हेरेर हुर्केको एंग्री योंगम्यान जेनेरेसन । अनि कुरै नमिल्ने । यहाँ यसो गरौ न भन्यो उहाँले चैं– हैट पाजी भन्दिहाल्ने । मलाई चैं यहि कुरा मैले लेखें भने राम्रो हुन्छ झै लाग्ने । त्यहि बेलामा सन्तोष पन्तसंग भेटन गएँ । मैले पहिलोे लेखेको चैं ‘उमेर पैसट्ठी’ भन्ने एउटा टेलिसिरियल हो । त्यो त्यतिबेला रुचाईयो । त्यसपछि सन्तोष पन्तसंगै थुप्रै टेलिसिरियलहरु गरियो । टेलिभिजनमा ‘ टाढाको बस्ति, दाईजो, अपुताली’ आदी गर्दै गईयो । त्यसपछि, ठूलो पर्दाको ‘विजय पराजय’को कुरा आयो । नेपाली सिनेमा त्यहि दुई, साढे दुई घण्टा वरपरको लेख्नुपर्ने । त्यतिबेलाको जोस, अब कति लेख्ने, कति लेख्दा कति समयको हुन्छ भन्ने थाहा छैन् । निर्देशक पनि नयाँ राजेन्द्र सलभ जि, निर्मातापनि नयाँ । कसैलाई केहि थाहा छैन् । लेख्दालेख्दै एकसय पचास भन्दा बढी सिन लेखिएछ । अब त्यो रफ ईडिट गर्दा नै साढे पाँच घण्टाको पो भएछ । एभरेजमा साठी देखि सत्तरी सिनमा सक्नुपर्ने कुरा त्यत्रो भएछ । पछि लेख्दै गर्दा पचासदेखि साठीको विचमा नेपाली सिनेमा लेखिएछ ।

गनेस– नेपाली सिनेमालाई एउटा आफ्नो स्वत्व निर्माण गर्न नसकेको भन्ने ठुलो आरोप छ । तपाईले यतिधेरै सिनेमा लेख्नु भो कि एक जमाना त फिल्मको निर्देशक को छ ? हिरो को छ भनेर हेर्नुपर्ने तर स्कृप्ट राईटर हेर्नै नपर्ने जस्तो थ्यो । सिनेमाको मुख्य हिरो स्कृप्ट राईटर हो भनेर तपाईले नै लेख्नुभाछ । नेपाली सिनेमालाई गति दिन नसक्नुभएको भन्ने आरोप तपाईलाई लगाएँ भने के हुन्छ ?
ब्रजेश – म आरोपको सिधै खण्डनपनि गर्दिन । हो, सवैभन्दा ठूलो हिरो स्कृप्ट हो । अन्तिममा त्यो एउटा निर्देशकको हातमा पुग्छ । सवैचिजको समन्वय गरेर एउटा सोचलाई चैं मूर्तरुप दिएर सिनेमा बनाउने काम निर्देशकको हो । डाइरेक्टरले चाह्यो भने जतिसुकै राम्रो स्कृप्टमापनि झुर सिनेमा बनाउन सक्छ तर झुर स्कृप्टमा राम्रो सिनेमा चैं बनाउन सक्दैन् । सवै दोष निर्देशकहरुलाई लगाए उम्किन खोज्या त होईन तर मैले आफूले त्यो बेलामा चाहेका कतिपय चिजहरुपनि गर्न पाईन् । मार्केटको डिमाण्ड यहि छ यहि चाहिन्छ भनेपछि के गर्ने ? त्यो बेला आफ्नोपनि संर्घषको अवस्था थ्यो । नेपालमापनि स्कृप्ट लेखिन्छ भनेर देखाउने पिरियड थ्यो । उमेरको परिपक्वतापनि थिएन् । टिक्नु सबभन्दा ठूलो कुरा थ्यो । त्यो बिकाउ चिजले मलाई बिकाउ बनाउँछ भने त म टिक्न त प¥यो नि ! मैले भनिपनि रहेको छु । हामीकहाँको सिनेमामा सबभन्दा ठूलो समस्या भनेको सोचको अभाव हो । अरु कुनैचिजकोपनि अभाव होईन । विदेशी सिनेमाका निर्देशकहरुको तुलनामा आधा सोच मात्रै भएका निर्देशकहरुपनि मैले नेपालमा देखेकै छैन् । त्यो नै नभएपछि अरु केहि हुँदैहुँदैन् । म संग अहिलेपनि पच्चिसवटा सब्जेक्ट छ जुन चैं त्यो बेलादेखि मेरो दिमाखमा छ । जुन कतिपय त अन्यत्रैबाट बनिसके । म त्यसमा दुख त मान्छु तर अचम्भ मान्दिन् । त्यो बेला सिनेमामा काम गर्नेहरुले बहुत दुखले काम गरेका हुन् । महङ्गो पर्छ भनेर पाँचवटा बनाउन नसकेर चारवटा प्रिन्टपनि बम्बैबाट बनाएर ल्याउनुपथ्र्यो । एउटा हलमा एक रिल देखाउँदा देखाउँदै अर्को हलमा अलिकति पछाडी शो शुरु गरेर मोटरसाईकलमा एकजनाले कुदाएर पु¥याउनुपथ्र्यो । त्यसको मोटरसाईकल पञ्चर भो भने उता अर्को हलमा कुर्चि तोडफोड भैसक्थ्यो । त्यो भित्र काम गर्ने मान्छेहरुलाई थाहा छ त्यो बेलामा कति दुख हुन्थ्यो । त्यो बेलामा हिरोले आफ्नो पार्ट खिचेर सकिएपछि अर्को सिन खिच्दा उस्तैपरे रिफ्ल्याक्टर बोकेर उभिनुपथ्र्यो । त्यो बेलाका लाईटम्यानहरु, प्राविधिकहरु कतिजना करेन्ट लागेर म¥या छन् । त्यो दुखले ईण्डस्ट्री टिकेको हो के ! अहिले आएर त्यो बेलाकाले केहि गरेनन् । पहिचान बनाएनन् भन्नुलाई अब के भन्ने ? फुटबल ग्राउण्ड रह्यो भने न पछिकाले आएर त्यहाँ फुटबल खेल्ने हो ।

Share on
  • 12
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *