गुमनाम झलकमान

नेपाली लोक संगीतका शिखर व्यक्तित्व झलकमान गन्धर्व निधन भएको १४ वर्ष पूरा भई १५ वर्ष लागेको छ । उनको मृत्यु ६८ वर्षको उमेरमा ०६० साल मंसिर ६ गते काठमाडौमा भएको थियो ।

नेपालकै सुन्दर पर्यटकीय नगरी कास्की पोखरास्थित कालीखोला किनाराको बाटुलेचौरको एउटा विपन्न गरिब गन्धर्व परिवारमा विसं. १९९२ साल बैशाख १२ गते जन्मिएका थिए झलकमान ।

पिता दुर्गाबहादुर गन्धर्व र माता भागीरथी (मकैडाली) गन्धर्वको कोखबाट जेष्ठ सुपुत्रका रुपमा यी महान लोक स्रष्टाको जन्म भएको थियो ।

वनको काँडोलाई तिखारी रहनुपर्दैन भनेजस्तै रुढीग्रस्त सामाजिक प्रणालीको छेकथुन, भेदभाव, चरम गरिबी र अभावले उचित शिक्षा दिक्षा नलिइकनै वाल्यावस्था बित्यो ।उनी नौ वर्षको हुँदा ममतामयी आमाको मृत्युले झलकमानलाई ठूलो बज्रपात नै पर्‍यो ।

जन्मजात सांगीतिक जाति र पुख्र्यौली कला एवं सीपले झलकमानका बाल पाइलाहरु आफ्से–आफ अघि बढ्दै गए । ९ वर्षको बाल्यकालदेखि नै सारंगी बजाउन जानिसकेका झलकमान १३ वर्षको हुँदा र्‍याइँ र्‍याइँ सारंगी रेटदै गामठाम, लेकबेंसी डुल्थे । विभिन्न गाँउले जनजीवन, सुखदुख, मायापिरती, कथाव्यथाका साथै वीरता र राष्ट्रियताका गाथा र कर्खा सुनाउँथे ।

आफ्नो खेतबारी नभएकाले सारंगी बजाएर मात्रै परिवार धान्न सक्ने अवस्था थिएन । नाचगान, मेलापर्व र जात्रा–उत्सव बाह्रै महिना चल्ने कुरा पनि थिएन । सारंगी रेटेकै भरमा परिवार चल्न सक्दैनथ्यो । बाल्यकालमा माछा मार्नु झलकमानको अर्को मुख्य काम थियो ।

कालीखोला, मगदी, पार्दी, खुर्से, विजयपुर, सेती खोलामा दुवाली थुनेर माछा मारी बजारमा बेचेर खर्च जोहो गर्नुपर्थ्यो । भोटो कछाडको पहिरनमा जाल र पेरुङ्गो भिरेर कालीखोलाको किनारमा जिन्दगीका धेरै क्षणहरु बिताएका थिए झलकमानले ।

२१ वर्षको उमेरमा मामाकी छोरी कलावती गन्धर्वसँग उनको पहिलो विवाह भएको थियो । एक छोरा र एक छोरीकी आमा कलावतीको असामयिक निधनले झलकमानले दोस्रो विवाह गरेका थिए । काठमाडौंको कीर्तिपुरसँग जोडिएको गाम्चाकी मंगलमाया श्रेष्ठसँग प्रेम विवाह गरेका थिए । उनका कान्छीपट्टी चार छोरा र एक छोरी छन् । उनका परिवारजन कीर्तिपुरमै बस्दै आएका छन् ।

गीत–संगीतका शुरुवाती दिन, वर्षहरुमा आफ्नै गाउँघर, शहर बजार घुम्दै लोकप्रिय बनेका झलकमान ३० वर्षको उमेरमा विसं. ०२३ सालमा आयोजित राष्ट्रिय लोकगीत प्रतियोगितामा भाग लिन तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङका साथमा कल्याण शेरचनको नेतृत्वमा काठमाडौं आए । सो प्रतियोगितामा प्रथम भई उत्कृष्ट स्थान हासिल गरेपछि झलकमान राष्ट्रियरुपमा चम्किन थाले ।

सुगौली सन्धिपछि बहादुर गोर्खाका नाममा पराई भूमि रक्षाका लागि लाहुरेको मरण कर्खा र कारुणिक पारिवारिक वर्णनमा आधारति उनको आफ्नै रचना “आमाले सोध्लिन् नि खै छोरा भन्लिन्” गीत नै प्रतियोगितामा गाएका थिए । जुन गीत कालजयी बन्यो ।

निर्णायक मण्डलको विजयी घोषणाछि श्री ५ महेन्द्र सरकारबाट झलकमानलाई स्वर्णपदकसहित १ हजार नगद पुरस्कारसमेत प्रदान गरिएको थियो । त्यही सफलताले रेडियो नेपालमै सारंगी र मादल वाद्यवादकका रुपमा उनले जागिर खान थाले ।

विसं. ०२४ साल कात्तिक १ गतेदेखि उनले रेडियो नेपालमा गायकको रुपमा पनि काम गरे । काठमाडौंमा केही विदेशी र नेपालीलाई समेत उनले सारंगी बजाउन सिकाए । याक एण्ड यति होटलको “भैरव नृत्य दल” मा सहभागी भएर भारत, जर्मनी, स्वीट्टजरल्याण्ड, पेरिस, युगोस्लाभिया लगायतका देशहरुको समेत भ्रमण गरे ।

रेडियो नेपालमा झलकमानका २५० भन्दा बढी गीत रेकर्ड भैसकेका छन् । तर, बिडम्बना, आज उनका ८/१० वटा गीत पनि बज्दैनन् ।

उनका ११ गीत संकलित “झलकमान गन्धर्वका लोकगीतहरु” म्युजिक नेपालले बजारमा ल्याएको छ ।

झलकमानका आमाले सोध्लिन् नि खै छोरा भन्लिन्, डाँफे चरी, अल्लारे नानी, राधा पियारी, खाँउ त भने, चाँचरी गीत, बाला जोवन लगायत दर्जनांै गीतहरु चर्चामा छन् ।

झलकमानले नेपाली गीत संगीतको सिर्जना, जर्गेना र श्रीवृद्धिमा सिंगो जीवन समपर्ण गरे । यसैको सम्मान स्वरुप नारायणगोपाल स्मृति सम्मानदेखि इन्द्रराज्यलक्ष्मी पुरस्कार लगायत दर्जनौं सम्मान पाउनु अहोरात्र सारंगीको तार रेटेरै पाएको झलकमानको चिनारी हो ।

नर्वेबाट प्रकाशित पुस्तकमा त झलकमानले “अरबाजो” बजाएको दुर्लभ तस्वीरसमेत छापिएको छ । नेपालको हिमाल खबरले “सय वर्षका एक सय एक नेपाली” मा झलकमानले ८२ औं स्थान प्राप्त गरेका छन् ।

रेडियो नेपालको सीमित तलब, ठूलो पारिवारिक बोझ, दम रोगले च्याप्दै लगेपछि उनको एउटै गुनासो थियो– मैले यत्तिका पुरस्कार पाइसकें, तर, अझसम्म मैले गोर्खा दक्षिणबाहु नपाउँदाखेरि मलाई दुःख लाग्छ । नपाउनेले पाइसके मैले पनि त पाउनुप¥यो नि एउटा गोर्खा दक्षिण बाहु ।

आफ्नो नाजुक शरीरलाई विशेष उपचारका लागि विदेशतिर लगिदिएमा अरु केही वर्ष बाँच्न सक्ने आशामा थिए झलकमान । तर, राज्यले परम्परावादी सोचकै कारण त्यस्तो न्याय गर्न सकेन । एउटा होनाहार लोक स्रष्टाको जीवन रक्षाका लागि राज्यले पहल नलिनु दुःखद कुरा हो ।

झलकमानले राज्यका लागि के के मात्रै दिएनन् ? स्वदेशमा र विदेशमा समेत नेपाली गीत संगीत, राष्ट्रियता, स्वाभिमानलाई उँचो तुल्याए । गीत संगीतको भण्डारमा झलकमान महासागर बनेर सुसाए ।

तर, घृणावाद र तिरष्कारवादको मूल सिद्धान्तमा आधारित नेपाली राज्यसत्ताले मृत्यु भएको १५ वर्ष लाग्दासमेत उनको प्रतिष्ठानका लागि १ रुपैयाँ बजेट छुट्टाएको छैन ।

उनको सिर्जना के कस्तो अवस्थामा छ ? उहाँको परिवारको दैनिकी कस्तो छ ? परिवारप्रति राज्यको जिम्मेवारी र दायित्व के हो ? भन्नेसम्म महसुस गर्न नसक्नु दुर्भाग्य हो ।

उनको मृत्यु हुँदा विभिन्न नेताहरुले आश्वासनको झुटो पोको बाँडेका थिए । उनका नाममा झलकमान मार्ग, झलकमान चोक र झलकमान प्रतिमा, आदि आदि । तर, ती सबै झूठा आश्वासन पानीका फोकासरी फुटे ।

जनताका लोकगायक झलकमान गन्धर्व नामक स्मृति पुस्तक प्रकाशन गरेर नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले ठूलो गुन लगाएको छ । पुस्तक बिक्रीबाट प्राप्त रकमले स्थायीकोष खडा गरी त्यसबाट आएको ब्याजले उनको स्मृतिमा झलकमान पुरस्कार प्रदान गर्ने उद्देश्य राखिएको थियो ।

तर, अफसोच ! जुन संस्थाले पुस्तक बिक्री गर्ने जिम्मा लियो । उसले दराजमै थन्काएर ढुसी र माउलाई खुवाएर नष्ट गरेको छ ।

कला संस्कृति, प्रविधि र ज्ञान सीपका धनी समुदाय राज्यसत्तामा निर्णयक ठाउँमा नहुँदा झन–झन किनाराकृत भैरहनुपरेको छ । हजारांै वर्षदेखि यी समुदाय राज्यबाट थिचोमिचो र विभेदमा पारिएको विदितै छ । उनको मृत्युमा समेत विभेदको छाँया प्रतिविम्वित भएको थियो । दाहसंस्कारका लागि चन्दा उठाइनु पर्ने र थोत्रो ट्रकमा शव सवार गरिनुपरेको थियो । कुनै राष्ट्रिय मानसम्मानविनै !

समग्र राष्ट्रहित र जनहितमा काम गर्नुको साटो राज्य नजानिँदो तरिकाले नातावाद, कृपावाद र परिवारवादमा अल्मलिरहेको छ । राज्य सञ्चालकहरुको हितमा कुनै पनि संरचना खडा गर्न कुनै आइताबार कुर्नुपर्दैन । मदन भण्डारी, प्रमले घोषणा गरेको प्रकाश दाहाल स्मृति प्रतिष्ठान आदि । तर, राज्यको एकलनश्लीय जातिवादी मानसिकताका कारण दिलबहादुर रम्तेल, रामशरण दर्नाल, मगर गन्धर्व र झलकमान गन्धर्व स्मृति प्रतिष्ठान खोल्न सरकार किन पछि सर्छ ?

एकजना पूर्वप्रधानमन्त्रीले आफू जीवित छँदै, आफ्नै नाममा प्रतिष्ठान खोलेर जनताले तिरेको करबाट करोडांै लान्छन् । तर, जनताका लोक गायक झलकमान गन्धर्वलाई भने मृत्यु भएको १५ वर्ष लाग्दासमेत राज्यबाट उनको सम्मानमा १ रुपैयाँ बजेट नछुट्ट्याउनुका पछाडिको रहस्य के हो ? के भनेजति मनोमानी गर्न यो देशमा गन्धर्वहरु नै राष्ट्रपति वा प्रधानमन्त्री बन्नुपर्ने नै हो त ?

यदि त्यसो होइन भने राज्य, सरकार र नेतृत्वले राज्यको गहना लोक संगीत र कला स्रष्टाप्रति जिम्मेवार बन्नुपर्छ कि पर्दैन ?

झलकमानको सम्मानमा यसो गर्न सक्छ राज्यले

हाल नेपालको जनसंख्या झन्डै तीन करोड रहेको छ । नेपालका १२५ जातिमध्ये गन्धर्व जाति पनि एक हो । वि.सं. २०५८ सालको जनगणनानुसार गन्धर्वहरुको जनसंख्या ५ हजार आठ सय ८७ रहेको छ । अर्थात, नेपालको कृ्ल जनसंख्याको ०.२१ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

वि.सं. २०६८ सालको जनगणना अनुुसार गन्धर्व जातिको जनसंख्या ६ हजार सात सय ९१ छ, जसमध्ये कास्कीमा ६ सय २४ जना छन् । कास्कीमा मात्रै एक सय २४ घरधुरीमा ६५ वटा त पोखराको बाटुलेचौरमा छन् । यो जातिको मुख्य वासस्थान कास्की जिल्ला हो भने अन्य विभिन्न जिल्लाहरुमा वाग्लुङ्ग, पाल्पा, दैलेख, सुर्खेत, भोजपुर तथा जाजरकोटमा पनि यिनीहरुको वसोबास रहेको पाइन्छ ।

कला कौशल, सीप–प्रविधि र सिर्जनशीलतामा राष्ट्रिय स्तरमै अब्बल भए जस्तै साँस्कृतिक रुपमा पनि गन्धर्व जाति अगाडी नै रहेको छ । तर, नेपालको तहगत विभेदपृ्र्ण जातीय संरचना, अज्ञानता, आफनो कलासंस्कृति संरक्षणप्रति चेतनाको अभाव, गहिरो खोज अनुसन्धानको कमी, संस्कृतिको संरक्षणमा राज्यको उदासिनताले गर्दा गन्धर्व जातिको मौलिक लोकसंस्कृति लोप हुने अवस्थामा रहेको छ ।

अहिलेसम्म पनि अपेक्षाकृत उनीहरुको विशिष्ट कलासँस्कृतिको अध्ययन अनुसन्धान हुन सकेको छैन । त्यसको विस्तृत अध्ययन अनुसन्धान र खोजविन गर्नुपर्ने खाँचो अहिले सम्मको स्थितिले पुष्टि गरेको छ । जातीय विभेदका कारणले गर्दा नै आज गन्धर्व जातिको मौलिक जातीय कलासंस्कृति लोप भैरहेको अवस्था छ ।

लोपोन्मुख गन्धर्व जातिमा रहेको मौलिक लोक तथा परम्परागत गीत, नाच, भाषा, संस्कृति, नाटक र वाद्यवादनको अभिलेखीकरण, संरक्षण, सम्वद्र्धन र विकास हुन सकेको छैन । गन्धर्व जातिका नयाँ पुस्तामा समेत आफ्नो जातीय लोक संस्कृति प्रति विकर्षण बढ्दै गएको पाईन्छ । अमूर्त सांस्कृतिक सम्पदा संरक्षणमा राज्यको उदासिनता, समुदायमा आर्थीक अभाव, जातिय भेदभाव, विश्वव्यापीकरणको प्रभाव, वैदेशिक रोजगारी, शिक्षा र चेतनाको कमी, र गन्धर्व कला र संस्कृतिलाई सम्बन्धित समुदायमा राज्यले जिविकोपार्जन सँग नजोडिदिँदा गन्धर्व जाति र संस्कृतिनेै लोप हुने अवस्थामा रहेको छ ।

गन्धर्व जातिमा मात्रै प्रचलनमा रहेको सारंगीका लोपोन्मुख राग/धुनको अनुसन्धान गरी श्रब्य, दृष्य छायांकन गरी त्यसलाई प्रकाशन समेत गरी अभिलेखीकरण गरिनु पर्दछ । यसले आम गन्धर्व जातिको बौद्धिक अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणको सुनिश्चितता गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा यसलाई व्यावसायिक विकास गरिने संभावना रहेको छ । यसबाट गन्धर्व जातिको मौलिक सीप, कला, प्रविधि तथा सङ्गीत संस्कृतिको पहिचान, संरक्षण र प्रवद्र्धनमा समेत पर्याप्त योगदान पुग्नुका साथै परम्परागत अमूर्त सांस्कृतिक धरोहरहरूको संरक्षणमा नयाँ पुस्तको सहभागिता पनि बढ्ने छ ।

सरकारले स्थापना गरेको विभिन्न एकेडेमीहरुमा अक्सर राजीतिक झुकाव राख्नेहरुकै नियुक्ति हुने गरिएकाले गन्धर्व जातिले उचित स्थान आजसम्म पाउन सकेका छैनन् । संगीत संस्कृतिको हिसाबले नेपाल मात्रै नभएर विश्वकै लागि अमूल्य रहेको सारंगीलाई विश्वसम्पदा सूचीमा सूचीकरण गरिनु पर्दछ ।

राज्यले छुट्टै प्रतिष्ठान स्थापना गरेरै भए पनि नेपालको सांगीतिक जाति गन्धर्वलाई सँस्कृतिको मुलप्रवाहमा ल्याउनै पर्दछ । आधुनिक आर्केष्टाको निर्माण गरि उनीहरुको गीत संगीतलाई आधुनिकीकरण गरिनु पर्दछ । संगीत सहचारीको रुपमा विभिन्न देशको राजदूतावासहरुमा उनीहरुलाई नियुक्तिको व्यवस्था गरिनु पर्दछ ।

कस्मेटिक प्रकारको वर्तमान गीत संगीतको बाढीमा गन्धर्व जातिलाई उनीहरुको मौलिकपन बचाउन निकै हम्मेहम्मे परिरहेको छ । भीडहरुको बीचमा गन्धर्व जातिको विशेष स्थान रहेको छ । तर, यसबाट जीविकोपार्जन हुन नसकेकोले अरु कामबाट आम्दानी हुने, सारंगी बजाएर गुजारा नहुने र गन्धर्वको सामाजिक प्रतिष्ठामा समेत जातीय भेदभावको शिकार बन्नु परिरहेको छ ।

सामन्ती व्यवस्थाको राप र तापले सारंगी बजाएर मनोरञ्जन गर्ने, गराउने यी लोकप्रिय सांगीतिक जाति गन्धर्व र सारंगी लोप हुने अवस्थामा पुगेका छन् । उनीहरुको मौलिक साँस्कृतिक सम्पदा संरक्षणको लागि राज्यले विशेष साँस्कृतिक नीति बनाई लागू गर्नु पर्दछ ।

विडम्वना ! राज्यले सांस्कृतिक नीति निर्माणको चरणमा छलफलमा सहभागितासमेत गराउन चाहँदैन । सर्वव्यापी, प्रभुत्ववादी शक्तिशाली जातीय प्रथाले मूलतः राज्य अहिले पनि एकात्मक एकल जातिवादी मानसकिताबाट बाहिर आउन सकेको अवस्था छैन् ।

झलकमान गन्धर्वको १५ औ स्मृतिमा उहाँको आत्माले शान्ति पाओस् । राज्य सञ्चालकहरुको आत्मामा सद्बुद्धि पलाओस् । जय गीत संगीत !

याे सामाग्री अनलाइन खबरका लागि डिबी नेपालीले लेख्नुभएकाे हाे ।

Share on
  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *