देउवाको दरबारमोह अझै किन टुङ्गिएन?: कृष्ण सिटौला (भिडियाे अन्तर्वार्ता)

कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँग चुनावको समीक्षा गर्न बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक, चुनावी समीक्षा, कांग्रेसको राप्रपासँगको गठबन्धन लगायतका विषयमा नेपालखबरका लागि सीताराम बरालले गरेको कुराकानीलाइ यहाँ प्रस्तुत गरिएकाे छ ।

भिडियाे

सभापतिको कार्यशैली

महाविधेशन भएको दुई वर्षपछि पार्टीका पदाधिकारी चयन गर्न लाग्दासमेत तपाईंहरुले सभापति शेरबहादुुर देउवालाई अवरोध गर्नुभएको छ। तपाईंहरुको असहमति के विषयमा हो?
पार्टी विधानले पदाधिकारी निर्वाचन, मनोनयन जे गर्ने गर्ने हो, दुई महिनाभित्र गरिसक्नुपर्छ भनेको छ। यो काम समयमा सम्पन्न गर्न नसक्दा समस्या उत्पन्न भएको हो।

पार्टी विधानले पदाधिकारीको मनोनयन निर्वाचित केन्द्रीय सदस्यमध्येबाट गर्ने व्यवस्था गरेको छ। तिनको चयन निर्वाचित केन्द्रीय सदस्यहरुको बैठकबाट गर्ने हो। सर्वसम्मत भए त राम्रो, नभए बहुमतको आधारमा चयन गर्नुपर्छ। पार्टीभित्र आन्तरिक सहमति जुटाएर नगर्दा समस्या सिर्जना हुन्छन् नै।

सभापतिले पार्टीभित्र बृहत एकता खोज्नु भएको हो भने, ‘हुन्छ, म गर्छु’ भन्ने आश्वासन दिएरमात्र हुँदैन। आश्वासनलाई व्यवहारमा परिणत गर्नुपर्छ।

तर, सभापति देउवा आश्वासन चाहिँदो भन्दा बढी दिनुहुन्छ। कार्यान्वयन चाहिँ गर्नुहुन्न।

उहाँले पार्टीलाई एकताबद्ध गर्न नसक्नुभएकै हो?
सबै साथीहरुलाई जुन ढंगले समेटेर लैजान सक्नुपर्थ्यो, त्यो सक्नुभएन। पार्टीभित्र जसरी लोकतान्त्रिक अभ्यास गर्नुपर्थ्यो, त्यो पनि गर्नुभएन। पारदर्शी ढंगले निर्णयहरु पनि गर्न सक्नुभएन।
यो कुरा मैले बाहिर धेरै भन्ने गरेको छैन। तर समस्या चाहिँ धेरै देखिएको छ।

दिएको आश्वासन पुरा नगर्नुभएको के कुरामा हो?
सबै कुरामा। जसले जे भनेपनि उहाँले नाइँ भनेजस्तो लाग्दैन। उहाँको स्वभाव नै त्यस्तै छ, ‘हुन्छ’ भन्ने, तर काम नगर्ने स्वभावले विश्वसनीयतामा गिरावट आउँछ।

सभापतिप्रति आफ्नै साथी र कार्यकर्ताहरुको विश्वास टुट्दै गएपछि पार्टीप्रति जनताको विश्वास टुट्न थाल्छ। पार्टीको सफलता पार्टीका कार्यकर्ताहरुको उत्साहमा, जाँगरमा भर पर्छ।  त्यसका लागि बृहत् एकता देखिनुपर्छ, सक्रियता देखिनुपर्छ। त्यसका लागि नीतिगत र रणनीतिगत कार्यक्रम चाहिन्छ।

तर यी सब चिज केही नहुँदा पार्टीभित्रका समस्याले बिकराल रुप लिएका छन्।

किन यस्तो भयो?
पार्टी महाधिवेशनपछि यहाँसम्म आइपुग्दा पार्टी नेतृत्व जनताको बीचमा पुग्नेभन्दा सरकार कसरी गिराउने र बनाउने भन्नेमा लाग्यो। त्यसले गर्दा पार्टीमा धेरै समस्या आएका हुन्। त्यसको परिणाम हामीले निर्वाचनमा भोग्नुपर्‍यो।

तपाईंहरुले पनि भागबण्डा खोजिदिँदा सभापति देउवालाई अप्ठेरो परेको हो कि?!
पार्टीलाई सन्तुलित र एकताबद्ध गरेर हिँडाउने क्षमता सभापतिमा हुनुपर्छ। त्यो नहुँदा पार्टीमा समस्या उत्पन्न हुन्छ। पार्टीमा पेलेर लैजान सभापतिले सक्नुहुन्छ, तर पार्टी पेलिँदै जाँदा यसको शक्ति घट्दै जान्छ, खिइँदै जान्छ।

पार्टीलाई खियाउँदै लैजाने हो भने पार्टीका साथीहरुलाई पेल्दै जाँदापनि हुन्छ। होइन, पार्टीलाई विस्तार गर्दै जाने हो भने, उदार बनेर ठूलो छाती पारेर सबैलाई साथमा लिएर जानुपर्छ। त्यसका लागि विचारहरुको आमन्त्रण गर्नुपर्छ। बोल्न दिएरमात्र हुँदैन, बोलेका विचारहरुको कदरपनि गर्नुपर्छ, ती विचारहरुलाई जोड्न सक्नुपर्छ। विचारको आधारमा एकता हुने हो, नीतिगत रुपमा एकता हुने हो।

राजनीतिक दलभित्रको एकता पदको भागबण्डाले हुँदैन। त्यसैले मैले भन्ने गरेको छु, ‘नीतिगत, बैचारिक, संस्कारगत, व्यवहारिक निर्णय प्रक्रिया आदि सबैका बारेमा हामीले एकपटक समीक्षा गर्नुपर्छ।’

हामीले सामन्ती व्यवस्था अन्त्य गर्‍यौं। राणा शासन, राजाको शासन, सामन्ती विर्ता प्रणाली कांग्रेसकै नेतृत्वमा अन्त्य भएका हुन्। तर ती व्यवस्थाले सिर्जना गरेका सबै सामन्ती संस्कारले पार्टीलाई ग्रस्त पारेपछि नेपाली कांग्रेस कसरी समाजवादी बाटोमा अगाडि जान सक्छ?

कृष्णप्रसान सिटाैला

कृष्णप्रसान सिटाैला

देउवा सभापति निर्वाचित हुँदा र भएपछि उहाँलाई काँध थाप्ने, सहकार्य गर्ने काम तपाईंले पनि गर्नुभयो। यसआधारमा देउवाको असफलतामा आफ्नो पनि अंश लाग्छ भन्ने लाग्दैन?
महाधिवेशनमा सभापतिको उम्मेदवारी बन्ने मेरो तयारीपनि थिएन। तर सुशील कोइरालाको निधनपछि शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई नेता मानेर उहाँहरुको टिममा आवद्ध हुन चाहिन। सभापतिमा मेरो उम्मेदवारी देउवा र पौडेल दुबैलाई नेता मान्न सक्दिन भन्ने सन्देशपनि हो।

गगन थापा र उमाकान्त चौधरीजीमात्र मेरो टिममा थिए। त्यसबाहेक मेरो टिममा अरु थिएनन्। मेरै उम्मेदवारी कारण कांग्रेसको महाधिवेशनको इतिहासमा सभापतिको निर्वाचन पहिलो पटक दोहोरियो।

संस्थापन फुट्यो भन्ने सन्देश पार्टी पंक्तिमा पुगेपछि शेरबहादुर देउवाजीलाई फाइदा हुने भइहाल्यो। दोस्रो चरणमा उहाँ सभापति नै बन्नुभयो। यसरी शेरबहादुर देउवा सभापति बन्नुको एउटा कार्यकारण म बनें।

त्यसपछि देउवासँग घोषित रुपमै मिल्नुभएजस्तो देखियो नि?
पार्टी महाधिवेशनपछि देउवा पक्षसँगै मिलेर हाम्रो पक्षका भाइबहिनीहरुले नेवि संघको महाधिवेशन सम्पन्न गर्नुभयो। महिला संघमा पनि त्यस्तै भयो।

तर, पोखरामा भएको तरुण दलको अधिवेशनमा देउवाले तरुण दलको विधान नै तोडिदिनुभयो। उहाँ मनोनिततर्फ जानुभयो। नेपाल सांस्कृतिक संघमा भएको पनि त्यस्तै हो। त्यसैको सिलसिला केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्डको चयन हो।

तरुण दलको महाधिवेशनमा निर्वाचनको साटो जसरी मनोनयन गरियो, त्यसमा रामचन्द्रजीको पनि दोष छ। मैले भनेको थिएँ, ‘तरुण दलको कार्यसमिति चयनका लागि निर्वाचन नै गराऊँ। जो आएपनि के फरक पर्छ र? पार्टी सभापतिका लागि भातृसंगठनको सभापति कुनै चुनौति होइन। त्यो त जहिले पनि, जो भएपनि त्यो पार्टी सभापतिको सहयोगी नै हुन्छ।’

तर उहाँ (देउवा र पौडेल) मान्नुभएन।

तरुण दल अघिका भातृसंगठनको चुनावमा तपाईं देउवासँग मिलेपछि पौडेल देउवासँग मिल्ने निर्णयमा पुग्नुभएको होइन?
मैले भनेको थिएँ, ‘यदि देउवाजी र म मिलेको कारणले रामचन्द्रजीले तरुण दलमा चुनाव नगरौं, मनोनित गरौं’ भन्नुभएको हो भने, उहाँलाई आशंका हुने गरी हामी मिलेर चुनाव नउठौं। तीन वटै समूहबाट उम्मेदवार हुन दिऊँ। कि हामी तीनै (देउवा, पौडेल र सिटौला) जना काठमाडौं जाऊँ, उनीहरु जसरी जान्छन्, जाउन्। यदि देउवा र पौडेल पक्ष मिलेर लड्ने हो भने पनि म मेरा पक्षका भाईवहिनीहरुलाई छुट्टै लड्नु भनुँला। तर विधान तोड्ने काम चाहिँ नगरौं।’

मैले यो पनि भनेको थिएँ, ‘हामीले संगठन निर्माणको आधार विधानलाई नै बनाउनु पर्छ। विधान गलत छ भने त्यसलाई परिवर्तन गरौं। तर विधान तोड्ने काम नगरौं।’

तर संसदीय बोर्डको निर्माणसम्म पुग्दा आन्तरिक संगठनलाई विधानसम्मत ढंगले चलाउने, लोकतान्त्रिक प्रक्रियाबाट संगठन गर्ने र निर्णय प्रक्रियाअनुरुप निर्णय गर्ने, पारदर्शी ढंगले काम गर्ने कुरा अन्त्य भयो।

अपारदर्शिता कहाँकहाँनिर देखियो ?
मजत्तिको मान्छेले समेत समानुपातिक तर्फको सूची हेर्न पाइन। मैले कार्यसमितिको बैठकमा नै भनें, ‘शेरबहादुरजी भन्नुहुन्छ, टिकट वितरण रामचन्द्रजीसँगको भागबण्डाका आधारमा गरिएको हो। तर, तपाईंहरुले त हामी कसैलाई पनि देखाउनु भएन।’

यो कुराको जवाफ रामचन्द्रजीले पनि दिन सक्नुहुन्न। उहाँहरुले आआफ्ना मान्छे निर्वाचन आयोगमा लगेर जोड्नुभयो। समानुपातिक सूची संसदीय बोर्ड वा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर तयार पारिएको होइन।

चुनाव समीक्षा

प्रत्यक्षतर्फको उम्मेदवारीको भागबण्डामा तपाईंको पनि सहभागिता थियो, होइन?
प्रत्यक्षमा पनि के सहमति भयो भन्ने? अलिअलि छलफल भयो। त्यसपछि सभापतिजीलाई जो जो उपयुक्त लाग्यो, तिनैलाई टिकट दिएर पठाउनुभयो। उम्मेदवार तय भएर, सबैले सही गरी दिएर उम्मेदवार तय भएको होइन।

सारांशमा भन्दा केन्द्रीय संसदीय बोर्डले जसरी प्रक्रिया अघि बढाउनुपर्थ्यो, प्रक्रिया त्यसरी अघि बढेको होइन।

तर पार्टी केन्द्रीय समितिले त निर्वाचन पराजयको जिम्मेवारी आफूले लियो नि!
उम्मेदवार चयनमा केन्द्रीय समितिले कुनै भूमिका खेल्न पाएको थिएन। कार्यसम्पादन समितिमा रहेका साथीहरुको थोरबहुत भूमिका होला। जस्तो, मैले उम्मेदवारको लिष्ट हेर्न पाइन। किन नहेरेको? किन त्यत्तिकै निर्वाचन आयोगमा लिष्ट पठाउन दिएको? भन्ने प्रश्न उठाउन सकिएला। यस्तो कुरामा मेरोपनि गल्ती होला। तर, पार्टीमा बेथिति भएकै हो। त्यसको दुष्परिणाम निर्वाचनमा पार्टीले भोग्नुपर्‍यो।

तपाईंको भनाई ‘निर्वाचन हारको दोषी सभापति देउवा हुन्’ भन्नुपर्छ भन्ने हो?
सामान्य सिद्धान्तको हिसावले भन्ने हो भनेपनि, पार्टी नेतृत्वले ‘निर्वाचन परिणामप्रति म जिम्मेवार छु, अब फेरि सबलाई साथमा लिएर हिँड्छु, पार्टीलाई बलियो पार्छु’ भनिदिँदा यो विषय टुङ्गिन्थ्यो। यति सहज रुपमा टुङ्गिने विषयमा शेरबहादुरजीले किन जिम्मा लिनुभएन, मैले बुझ्न सकिन।

जिम्मा लिन हिच्किचाउनु भएको किन होला?
‘जिम्मा लिन्न’ भनेको ‘म नेता होइन है’ भनेको हो। सभापतिले ‘निर्वाचनको परिणाम जेजस्तो आयो, नेतृत्वको हैसियतले म जिम्मेवार छु, चिन्ता नगर्नुहोस्, अब पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने हो, सबै साथीहरु एकजुट होऔं’ भनिदिँदा धेरै कुरा ‘सेटलमेन्ट’ हुन्थे।

‘हारमा म जिम्मेवार छु’ भनेपछि नैतिकताका दृष्टिले सभापतिबाट राजिनामा दिनुपर्छ भनेर पो हो कि!
राजिनामा दिने वा नदिने भन्ने कुरा यसमा जोडिँदैन। त्यसरी उहाँलाई कसैले तर्साएको हो भने, यस्तो कुरामा उहाँ तर्सनुपनि हुँदैन, कसैले तर्साउनुपनि हुँदैन। उहाँको एक कार्यकालको समय बाँकी नै छ।

निर्वाचन सकिएलगत्तै हारको जिम्मेवारी लिने सन्दर्भमा देउवाले भन्नुभएको थियो, ‘त्यसो भए रामचन्द्रजी र सिटौलाजीको हारको जिम्मा पनि मैले नै लिइदिनुपर्‍यो?’ उहाँको जवाफ कस्तो लाग्यो?
त्यसो भए शेरबहादुरजी आफूले जितेको मात्र जिम्मा लिए भयो नि त! किन उहाँ दलको नेता हुन खोज्नुभएको अहिले? किन पार्टीको नेता बन्न खोज्नुभएको हो उहाँले?

‘देशका लाखौं समर्थक शुभेच्छुकहरुको नेता म होइन है, म मेरो मात्रै नेता हुँ’ भने भयो नि त अब!

सभापतिजस्तो मान्छेले यस्तो हल्काफुल्का कुरा गर्नुहुँदैन। उहाँले यस्तै हल्काफुल्का कुरा गरेकाले पार्टीमा समस्या उत्पन्न भएको हो। बेमौसम बोल्दिनुहुन्छ, बेतुकको कुरा बोल्दिनुहुन्छ। बेढंगले रिसाइदिनुहुन्छ। कहिले प्रेसमार्फत् रिसाइदिनुहुन्छ, त्यसको ‘म्यासेज’ सारा देशभरि जान्छ। चुनावको बेला यस्तै भयो।

सभापति भनेको व्यक्ति होइन, संस्था हो। सभापति बोलेपछि पार्टीले बोलेको हुन्छ। सभापतिले ‘प्रेसमिट’ मा बोलेको कुरा पार्टीले बोकेर हिँड्नुपर्ने हुन्छ। पार्टी कार्यसमितिको निर्णय नभएका बेला सभापतिले बोलेको कुरा नै पार्टीको निर्णय हुन्छ। त्यसैले, सभापति सीमामा बस्नुपर्छ। उसले पार्टीको मर्यादा र सम्मान बचाउन सक्नुपर्छ।

कृष्णप्रसान सिटाैला

कृष्णप्रसान सिटाैला

चुनाव अवधिभर देउवा र पौडेल दुबैले एमाले–माओवादी गठबन्धनलाई अधिनायकबाद भन्नुभयो। तर तपार्इंले भनेको सुनिएन। पार्टीले लगाएको यो नाराप्रति तपाईंको असहमति थियो?
उहाँहरुले लगाएको अधिनायकबादको रटान ठीक थिएन। हामी निर्वाचनमा जाँदा नेपाली कांग्रेस पार्टीको नीति, कार्यक्रम लिएर जाने हो। तर त्यो हुन सकेन।

पार्टीलाई तलदेखि माथिसम्म एकताबद्ध गराएर लैजानुपर्थ्यो, सभापतिले त्यो गर्न सक्नुभएन। पार्टीको निर्णय प्रक्रिया ठीक भएन। साथीहरुले न्याय र विवेक पाएनन्।

पार्टीमा सदस्य नै नभएका मानिसहरु समानुपातिकबाट सांसद बनेर प्रतिनिधि सभामा पुगे। लामो समयदेखि संगठन गरेका साथीहरुप्रति न्याय भएन। केन्द्रीय कार्यसमितिले समानुपातिकतर्फ उम्मेदवारी नदोहो¥याउने निर्णय गरेको थियो। तर दोहोर्‍याइयो। त्यसले साथीहरुमा असाध्यै ठूलो निराशा र आक्रोस खडा गर्‍यो। साथीहरु पूर्णरुपमा परिचालित हुन सकेनन्। एउटै जिल्लाबाट थुप्रै साथीहरु समानुपातिक सूचीमा परे। कुनै जिल्ला रित्तै भए।

निर्वाचन आयोगबाट जब समानुपातिक सूची बाहिर आयो, त्यसपछि साथीहरुमा निकै ठूलो खैलाबैला भयो। खैलाबैला भएका साथीहरुलाई समेटेर हिँडाउनकै लागिपनि सम्बन्धित निर्वाचनका उम्मेदवार साथीहरुलाई निकै समय लाग्यो। यसको जिम्मेवारी सभापतिले बोक्नुपर्दैन?

पार्टीको साधारण सदस्यपनि नभएका मानिसलाई किन समानुपातिक सूचीमा राखियो? केन्द्रीय कार्यसमितिले नदोहोर्‍याउनु  है भनेका मानिसलाई किन दोहोर्‍याइयो?

एउटा मापदण्डमा त बस्नुपर्‍यो नि! कहीँचाहिँ यति बर्ष योगदान गरेको हुनुपर्छ भनेर भन्ने, कहीँ नयाँ मानिसलाई थपक्क बोकेर समानुपातिक सांसद बनाउने?

समानुपातिक भनेको एक हिसावले मनोनित सांसद नै हो, जहाँ एककप चियाखर्च नै नगरी सांसद बन्न पाइन्छ। यस्तो भएपछि बेथिति भइहाल्छ।

यसले गर्दा पार्टीका साथीमा निर्वाचनभरि खल्बल भइरह्यो। साथीहरुलाई चित्त बुझाउनै गार्‍हो भयो।

चुनावी तालमेल

राप्रपासँग तालमेल कसरी भयो?
सभापति देउवाले कमल थापाको क्षेत्रमा उनलाई सघाउनुभयो। तर, कमल थापाको पार्टी अन्यत्रचाहिँ वामगठबन्धनसँग मिलेर चुनाव लड्यो। किन कमल थापालाई सघाउनुभयो? कमल थापालाई नेपाली कांग्रेसले समर्थन गर्नुपर्ने, महन्थ ठाकुरलाई समर्थन गर्नुपर्ने, उपेन्द्र यादवलाई समर्थन गर्नुपर्ने। उहाँहरुले चाहिँ हामीलाई समर्थन गर्नुनपर्ने? यस्तो रणनीति अख्तियार गरेपछि पार्टीको सफलता कसरी सम्भव छ?

प्रदेश–२ मा पार्टी त्यसैकारणले हार्‍यो। महन्थजीलाई हामीले समर्थन गर्‍यौं, जित्नुभयो। उपेन्द्र यादवलाई समर्थन गर्‍यौं, उहाँले पनि जित्नुभयो। तर, उहाँहरुले चाहिँ हामीलाई समर्थन गर्नुभएन, मधेशमा हाम्रा शीर्ष नेताहरु हार्नुभयो।

कमल थापालाई पनि समर्थन गर्नुभयो। तर कमल थापाकै पार्टीका महामन्त्री वामगठबन्धनको उम्मेदवार बनेर झापामा म विरुद्ध उठ्नुभयो। सभापतिले कमल थापालाई सम्झाउनु पर्दैनथ्यो? कमल थापालाई हामीले सघाएपछि मेरो लेवलको मान्छेलाई कमल थापाले सघाउनु पर्दैनथ्यो?

‘राजतन्त्र चाहिन्छ है’ भन्ने पार्टीको मान्छेलाई उहाँले किन बोक्नुभयो? अझैपनि दरवारप्रतिको मोह उहाँको अझै किन नटुङ्गिएको हो? कांग्रेसले राजवादीको पक्षमा भोट कसरी माग्ने हो? यी कुरा त अचम्म छन् नि त!

झापा–३ राप्रपालाई छाड्ने विषयमा तपाईंसँग सल्लाह भएको थिएन?
कहाँ सोध्नु?

राजावादीलाई कांग्रेसले चुनावमा बोक्नहुन्छ? कांग्रेसले आफ्नो मतदातालाई ‘राजावादीलाई भोट हाल है’ भन्न हुन्छ? त्यसो हो भने हामीले राजा ल्याउन खोजेका हौं भन्नुपरेन?

जसको घोषणापत्रले राजतन्त्र पुनःस्थापना गर्ने भनेको छ, त्यो घोषणा पत्र बोक्नेलाई भोट हाल भनेर भन्नु हुँदैनथ्यो। माथि सरकार बनाउँदा सांसदको भोट लिनेजस्तो कुरा होइन, जनतामा जाने कुरा। निर्वाचन नै यस्तो माध्यम हो, जसले जनतासमक्ष पार्टीले आफ्नो विचार सम्पे्रषण गर्छ। त्यो विचारका आधारमा जनतालाई गोलबन्द गर्छ। राजतन्त्रको एजेण्डा बोकेको पार्टीलाई भोट हाल भन्दा के विचार सम्प्रेषण हुन्छ? राजतन्त्र ल्याउने विचारमा भोट हाल भन्ने विचार सम्प्रेषण हुँदैन? पार्टी यस्तो रणनीतिमा फस्न हुन्छ?

मधेशी दलहरुलाई सहयोग गर्दा किन आपत्ति?
मधेशी दलहरुसँग चुनावी एकता गर्न सकिन्थ्यो। किनभने, उहाँहरु पनि गणतन्त्रवादी दल हो। उहाँहरुसँग चुनावी एकता गरेको भए हुन्थ्यो। तर किन नगरेको? आखिर सबै डिल शेरबहादुरजी आफैले गर्नुभएको थियो। तर चुनावी सहकार्य गर्न सक्नुभएन? किन एकपक्षीय रुपमा मात्र सघाउनुभयो?

राजनीतिक रहर

पराजयपछि झापा-३ मा प्रतिस्पर्धा गरेर गल्ती गरिएछ जस्तो लाग्दैन?
लाग्दैन। सांसदमा त म गृहमन्त्री हुँदापनि पहिलेपनि हारेकै थिएँ। आफै क्याविनेटमा थिएँ। २६ जना मनोनितमध्येबाट आफै निर्णय गरेर संविधान सभामा गएको भएपनि हुन्थ्यो। गिरिजाबाबुले ‘मनोनिततर्फबाट संविधान सभामा जाउ न त’ भन्नु भएको पनि हो। तर सांसद बन्नमात्र मैले राजनीति गरेको होइन।

अहिलेपनि सांसदमात्रै बन्ने रहर भए त समानुपातिक सूचीमा बसिहाल्थें। किन प्रतिस्पर्धामा जान्थें?

मेरो रहर त मुलुकलाई एउटा राजनीतिक कोर्षमा लैजाऊँ भन्ने हो। यस्तो रुचि भएन भने राजनीति गर्न सकिन्न।

राजावादी उम्मेदवारसँग हार्दै गर्दा कस्तो लाग्यो?
त्यस्तो केहीपनि लागेन।

झापा–३ मा समानुपातिकतर्फको मत प्रतिसत हेर्दा दोस्रो संविधानसभाको चुनावको भन्दा धेरै प्रतिसत माथि छ। समानुपातिकतर्फ कांग्रेस पहिलो, एमाले दोस्रो, राप्रपा तेस्रो र माओवादी चौंथो स्थानमा छ। राप्रपाको भन्दा कांग्रेसको मत दोब्बर छ।

के देखिन्छ भने, वामगठबन्धनले कांग्रेसलाई हराउन जसलाई जसरी बोक्दा हुन्छ, त्यसरी बोकेको पाउँछु। वामगठबन्धनको रुची राजनीतिक कोर्श कसरी अघि बढाउने भन्ने होइन, कांग्रेसलाई कसरी हराउने भन्नेतर्फ गएको पाउँछु।

तपाईंसँग त्यस्तो के दुश्मनी थियो, जसका कारण झापा–२ मा ओलीजी तपाईंसँग बदला लिने योजनामा पुग्नुभयो?
त्यो त उहाँलाई नै सोध्नुपर्ला। म त कसैसँग बदलाको भावना नै नराख्ने मान्छे। कतिसम्म भने, राजा ज्ञानेन्द्रसँगपनि बदलाभाव छैन। राजा ज्ञानेन्द्रलाई नारायणहिटीबाट विदाई गर्न म आफै गएको हुँ। बदलाको भावना समाजमा राख्नु हुँदैन भन्ने मान्छे हुँ। राजनीतिप्रति श्रद्धा हुनुपर्छ। बैचारिक प्रष्टता हुनुपर्छ। शान्तिपूर्ण ढंगले जनताको बीचमा जानुपर्छ। जनतालाई सम्झाउनुपर्छ। राजनीतिक सम्प्रेषण जनताकै लागि गरिनुपर्छ। जनताबाट पाएको मतको प्रयोग जनताकै लागि गरिनुपर्छ।

०४८ यता आधा चुनाव जित्नुभयो। आधा चुनाव हार्नुभयो। सबैभन्दा नमज्जा लागेको हार यसैपटकको होला…
जितेको बेला खुसीले उन्माद चढेको पनि छैन। हारेको बेलामा कुनै निराशा आएको पनि छैन।

किसुनजीले पनि चुनाव हार्नुभएकै हो। इण्डियामा इन्दिरा गान्धीले पनि चुनाव हारेकी हुन्। चुनावमा हारजित कुनै ठूलो कुरा होइन। यसलाई म कुनै ठूलो घटनाको रुपमा लिन्न।

जब कुनै राजनीतिक कोर्श गलत दिशातिर जान्छ, त्यो मेरालागि ठूलो घटना हुन्छ। त्यो बेला मलाई धेरै दुख लाग्छ।

०५९ मा संसद भंग भयो, पार्टी विभाजित भयो, निर्वाचित प्रधानमन्त्री बर्खास्त भए। १९ माघको घटना भयो। यी मेरा जीवनका दुखद घटना थिए।

तर फेरि आन्दोलन भयो, देश गणतन्त्रमा पुग्यो। यी मेरा लागि सुखद घटना थिए।

हामी राजनीति गर्नेहरुले सुख र दुखलाई जनताको अधिकारसँग जोडेर हेर्नुपर्छ। हामीले राजनीति जनताका लागि गरेका हौं भने, जनताको उतारचढाव नै हाम्रो पनि उतारचढाव हो। जनताको सुखदुखसँग राजनीतिकर्मीले आफूलाई जोड्न सक्नुपर्छ। त्यसैले चुनावको हारजितले मलाई तात्विक अन्तर गर्दैन।

पूर्व संस्थापनसँगको सम्बन्ध

देउवाको खुबै आलोचना गर्नुभयो। यसलाई तपाईं र पुरानो संस्थापन (अहिले रामचन्द्र पौडेल) पक्ष विस्तारै निकट हुँदैछन् भन्ने अर्थमा बुझ्दा गलत होला?
पार्टीको आन्तरिक संगठनभित्र सहकार्य वा आलोचना गर्ने भन्ने कुरा विषयवस्तुका आधारमा हुने हो। महाधिवेशनपछि निर्वाचनसम्म आइपुग्दा सभापति देउवाले पार्टीलाई सही व्यवस्थापन दिनसक्नु भएन। पार्टीलाई एकताबद्ध राख्न सक्नुभएन। यही दृष्टिकोण रामचन्द्रजी र उहाँका साथीहरुको पनि देखिन्छ। यस आधारमा हामी एक ठाउँमा देखिएका होउँला।

तर भोलिको राजनीति के आधारमा हुन्छ, त्यो कुरा अहिले म भन्न सक्दिन। तर बेथिति निर्माण गर्ने कुरामा रामचन्द्रजीको पनि भूमिका छ। यो कुरा मैले भन्दै आएको छु।

अहिले केन्द्रीय समितिले निर्णय गर्‍यो, निर्वाचनमा हारको जिम्मेवार केन्द्रीय समिति छ….
पार्टीभित्र प्रस्तावित विचारलाई देउवाजीले जोड्न सक्नुभएन, सम्मान गर्न सक्नुभएन। उहाँले निर्णयका लागि प्रस्ताव राख्नुभयो। तर निर्णयका लागि आफूले राखेको प्रस्तावमा हामीलाई टिप्पणी गर्नपनि दिनुभएन। यो त गलत भयो।

ठीक छ, निर्णयका लागि पदाधिकारीले नै निर्णय राख्ने हो। प्रस्ताव राखेपछि अरुलाई टिप्पणी गर्न दिनुपथ्र्याे, त्यसपछि त्यसलाई सच्याएर सर्वसम्मत गराउने प्रयास गर्नुपर्थ्यो। तर त्यसो नगरी ढकढक ताली बजाएर पारित गर्न लगाउनुभयो।

तपाईंको भनाई ‘नोट अफ डिसेन्ट’ लेख्न पाउनुपर्थ्यो भन्ने हो?
कसैले ‘नोट अफ डिसेन्ट’ लेख्थे होलान्। कसैले बोलेर ‘रिजर्भेसन’ जनाउँथे होलान्। हामीलाई कुरा राख्न दिएको भए शेरबहादुरजीलाई ‘कन्भिन्स’ गरेर ‘करेक्सन’ गर्न सकिन्थ्यो होला नि। ‘यो कुरा पुगेन, यो कुरा थप्नुस्’ भनिन्थ्यो होला।

तर उहाँले निर्णयका लागि प्रस्ताव राख्नुभयो। प्रस्ताव राखेर ‘भयो, भयो, यसमा टिप्पणी गर्न पाइँदैन’ भनेपछि झगडा गर्ने, पौंठेजोरी खेल्ने कुरा त आएन।

‘यो कुरा ‘तिमीहरुले मान’ मात्र भन्दै जाने हो भने, पार्टी गलत दिशातिर पनि जानुपर्छ नि त!

केन्द्रीय समितिले जिम्मेवारी लिने निर्णयमा के गलत छ र?
त्यो निर्णयले कुनैपनि कुरा समेटेको छैन। गल्ती एउटाले गर्ने, ‘त्यसको जिम्मेवारी सिङ्गै केन्द्रीय समितिमा छ’ भन्न पाइँदैन।

यस पटकको चुनावमा कुनै अवसर नपाएका साथीहरु पनि केन्द्रीय समितिमा छन्। गुरु घिमिरे लगायत केही साथीहरु यस्ता छन्, जसले निर्णय प्रक्रियामा भाग लिन पाएनन् र संसदमा जाने अवसरपनि पाएनन्। उम्मेदवार निर्णय गर्ने कुरामा उनीहरुको के भूमिका छ र चुनावमा हारको जिम्मा उहाँहरुले लिनुपर्ने?

हो, संसदीय बोर्डमा रहेका साथीहरुको आंशिक भूमिका होला। मूल भूमिका त शेरबहादुरजीकै हो। जस्तो, भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवारी फिर्ता गराउन मैले भनें हुँला? दिनेश कोइरालाको उम्मेदवारी फिर्ता गराउन केन्द्रीय समितिले लगाएको हो? देउवाजी आफैले पत्र लेखेर दिनेशको उम्मेदवारी फिर्ता गराउनु भएको होइन?

त्यसैले, उहाँले यो भनेको भए हुने, ‘मैले सबै साथीहरुको कुरा सुनें। तर उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय मैले लिएँ। त्यसैले, जित र हारको जिम्मेवारी म लिन्छु।’

यो त ‘म नेता हुँ’ भन्ने क्षमताको अभाव हो। नेताले कहिल्यै यस्तो गर्दैन। पहिलो संविधान सभाको चुनावमा कांग्रेस हार्‍यो। त्यो बेला गिरिजाबाबुले भन्नुभएको थियो, पार्टीले हारेपनि देशले जितेको छ, देश गणतन्त्रमा गएको छ, संस्थागत निर्णय भएको छ। पार्टीले हारेपनि देशले जितेको छ। चिन्ता नलिनुस्, पार्टीले अर्काे चुनाव जित्छ।’

नभन्दै संविधान सभाको दोस्रो चुनावमा पार्टीले फेरि जित्यो। नेताले त एउटा घटना घटेपछि पार्टीभित्र उत्साह सिर्जना गर्नसक्नुपर्छ। घरको जिम्मेवारी घरमूलीले नलिए कसले लिन्छ ? हारको जिम्मेवारी सभापतिले नलिएपछि सबैले आआफ्नो ढंगले बोल्न थालेका छन्। हामी सबै जिम्मेवार भएपछि आआफ्नो ढंगले बोल्ने अधिकार पनि दिएजस्तो भयो नि त अब।

उहाँलाई किन यस किसिमले स्कूलिङ गरियो, मैले बुझिन। पार्टी सभापतिले दुई बाक्य बोल्दा सिंगो देशभरिका साथीहरुलाई सजिलै साथमा लिन सक्नुहुन्थ्यो र पार्टीलाई एकताबद्ध गराउन सक्नुहुन्थ्यो। डेढ महिना छलफल त गराउनुभयो, तर सबैका विचारलाई जोड्न पनि सक्नुभएन। अन्तिममा जे मन लाग्छ, प्रस्ताव राख्न लगाउनुभयो र विना टिप्पणी पारित गराउन लगाउनुभयो।

आगामी बाटो

देउवाको यस्तो मनोमानी विरुद्ध पुरानो संस्थापनका एकजुट हुनुपर्छ जस्तो लाग्दैन?
सुशील दा’ को निधनपछि हिजोको संस्थापनमा रहेका धेरै साथीहरु यताउता भएका छन्। अनि हिजो पार्टी फुट्दा देउवाजीसँग रहेका कतिपय साथीहरु अहिले रामचन्द्रजीसँग हुनुहुन्छ। विभाजनका बेला देउवाजीको साथमा नरहेका साथीहरु पनि अहिले देउवाको पक्षमा हुनुहुन्छ। जस्तैः फरमुल्लाह मन्सुर, पदमनारायण चौधरी, मानबहादुर विश्वकर्मा आदि।

कृष्णप्रसान सिटाैला

कृष्णप्रसान सिटाैला

त्यसैले, हिजो को कता थियौं भन्ने हिसावले होइन, मुद्दाका आधारमा हेरिनुपर्छ। मुद्दाका आधारमा हेर्दा, गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा जुन कार्यदिशा र गन्तव्य तय भएको थियो, त्यो बाटो आजपनि नेपालका लागि सान्दर्भिक छ भन्ने मलाई लाग्छ। हामी त्यही बाटोमा हिँड्ने कोशिष गर्नुपर्छ।

त्यसैले, आजको दिनमा म के निष्कर्षमा पुगेको छु भने, आजको दिनमा धेरै पुरानो ‘ह्याङ्ओभर’ बाट पनि पार्टीको नेतृत्वलाई विश्लेषण गर्नुहुँदैन, महाधिवेशनको बेलाको ‘ह्याङओभर’ बाट पनि विश्लेषण गर्नु हुँदैन र निर्वाचन परिणामको विश्लेषणबाट मात्र पनि विश्लेषण गर्नु हुँदैन।

सभापतिको कुर्सीमा आफ्नो आवस्यकता अरु बढेको छ भन्ने लाग्छ?
मैले अहिले नै हतारिएर बोल्नुपर्ने के छ र? तर, १३ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएर मैले ठीक गरें भन्ने निष्कर्षमा म अहिलेपनि अडिग छु। बैचारिक आधारमा मैले जुन परिवर्तनको मुद्दा उठाएको छु, त्यसलाई मैले निरन्तरता दिइराख्नुपर्छ।

सभापतिले आज जसरी पार्टी चलाउन खोजिरहनु भएको छ, त्यसरी हामी सफल हुँदैनौं । सफल हुन पार्टीमा आमूल परिवर्तन आवस्यक छ। आमूल परिवर्तनको आवस्यकता पार्टीको संरचनागत विषयमा छ, नेतृत्वको विषयमा छ, नीतिगत विषयमा छ, रणनीतिगत विषयमा छ। र, संस्कारगत विषयमा पनि छ। समग्र विषयमा नेपाली कांग्रेसलाई समय सापेक्षिक हुन आवस्यक छ।

चाहे राज्य सञ्चालनमा होस्, चाहे पार्टी सञ्चालनमा, हामीले जति नीति अख्तियार गरेका छौं, त्यसलाई एकपटक समीक्षा गर्नुपर्छ भनेको छु।

अब हुने महासमिति बैठकले यी विषयमा समीक्षा गर्ला त!
मैले भनेको छु, अब हुने महासमितिको बैठकलाई ताली लगाउने होडबाजी अखडाको रुपमा होइन, ठूलो बैचारिक सम्मेलनका रुपमा विकसित गर्नुपर्छ। महासमिति बैठकलाई सभापतिले कसरी सञ्चालन गर्नुहुन्छ, त्यो हेर्न बाँकी छ।

किनभने, सभापतिले सकियो भनिदिँदा महासमिति बैठक सकिन्छ। यसपटकको केन्द्रीय समितिको बैठक नै हेरौं। बैठक डेढ महिना चल्यो। सभापतिले सकियो भन्दा सकियो।

फोटो/भिडियाे : प्रविन काेइराला

Share on

Leave a Reply

Your email address will not be published. Required fields are marked *